नेपालकै पहिलो लक्ष्मी हयग्रीव नारायण मन्दिर क्षेत्रमा गुर्जो रोपण

काठमाडौँ ।
कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरस्थित नेपालकै पहिलो लक्ष्मी हयग्रीव नारायण मन्दिर क्षेत्रमा गुर्जो रोपण गरिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटको पहलमा मन्दिर क्षेत्रको २० रोपनी क्षेत्रफलमा करिब १०० बिरुवा रोपिएको हो । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो कोरोना सङ्क्रमण हुन नदिन उपयोगी मानिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै मन्दिरका संरक्षक रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले मानिसलाई निरोगी बनाउने गुण हाम्रो वरपर रहेका जडीबुटीमा भए पनि त्यसलाई बिर्सँदै गएका बेला गुर्जो रोपण अभियानले पुनर्जागरण गरेको बताए ।

योग शिक्षक अच्युत अर्यालले समुन्द्र मन्थन हुँदा निस्किएको अमृत देवता र राक्षसबीच खोसाखोस हुँदा गुर्जोमा परेकाले यसलाई संस्कृतमा वनस्पति भनिएको उल्लेख गर्दै त्यसैकारण यसले रोग प्रतिरोधी क्षमता बढाउनसक्ने बताउनुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद सिम्खडाले गत वर्षसम्म यस क्षेत्रको जङ्गलमा गुर्जो भए पनि विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएपछि उजाडिएको बताए । उनले गुर्जो उजाडिएको क्षेत्रमा अभिायनकर्मी राजलवटको सहयोगमा पनि फेरि फस्टाउने अवसर प्राप्त भएकामा खुसी व्यक्त गरे । कार्यक्रममा अभियानकर्मी राजलवटले मानव शरीरबाट विभिन्न किसिमका टक्सिन निकाल्न गुर्जोबाट बनेको धुलो र चिया उपयोगी हुने बताए ।

आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुख रहनुभएका राजलवटले कोरोना महामारी शुरु भएपछि विसं २०७६ देखि नै निःशुल्क गुर्जो रोपण अभियान चलाउँदै आएका छन् । आन्तरिक राजश्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास गृह परिसरमा उत्पादन गरिएको गुर्जोका बिरुवा उनले गत वर्ष देशभर निःशुल्क बाँडेका थिए ।

गुर्जो मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भएकाले यसबाट बनेको चिया र धुलो उपयोगी मानिन्छ । यसको डाँठ र रस पनि सेवन गरेर आरोग्यता प्राप्त गर्न सकिने जनाइएको छ । गुर्जोका विषयमा ५०० भन्दा बढी अनुसन्धान गरिएकामा यो बहुउपयोगी वनस्पति पुष्टि भएको जनाइएको छ ।

उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती र पाँच वर्षमुनिका बालबालिकाले भने खान नहुने जनाइएको छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउछन् । नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाइएको छ ।

विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उनले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आएका थिए । विसं २०७६ मा एक लाख ६० गुर्जोका बिरुवा निःशुल्क वितरण गर्नुभएका उहाँले यस वर्ष पनि करिब ११ हजार बिरुवा निःशुल्क बाँडेका छन् । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उनी बताउछन्। घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रुपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।

कमेन्टहरु
Loading...