पोखरा ३२ का विभिन्न स्थानका घरहरू डुवानमा, प्रशासनलाई ध्यानाकर्षण

पोखरा । दुई दिनदेखि लगातारको बाढीसँगै नहरमा अव्यवस्थित रुपमा आएको पानीले पोखरा महानगरपालिका वडा नं ३२ का विभिन्न स्थानमा घरहरू डुवानमा परेका छन् ।

पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ को टाँडीका साथै कालिका चोकका झण्डै २० वटा घरमा पानी पसेको छ । पानी पसेका कारण कतिपयको घरमा धान लगायतका अन्न पनि भिजेको छ । कालिका चोकमा पानी जमेर तालजस्तै बनेको र खुदी खोलाको किनारा भत्काउन थालेको बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा –३२ का अध्यक्ष शिवजी लामिछानेले जानकारी दिए ।

समितिको सकृयतामा वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रुपमा समाधान गर्न सम्बद्ध निकायमा यस अघि नै पत्राचारसहित ध्यानाकर्षण गराइए पनि त्यसको कार्यान्वयनमा चासो नदिदा समस्या भएको उनले बताए ।

नहरमा आउने पानीलाई व्यवस्थित नगरिदा यस क्षेत्रमा सिंचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा वर्षेनी समस्या बढीरहेको स्थानीयको माग छ ।

टाँडी र आसपासका क्षेत्रका स्थानीयवासी अव्यवस्थित नहरका कारण वर्षेनी समस्यामा पर्ने गरेको बताउने स्थानीय युवा नवराज घिमिरे समस्याको दीर्घकालिन समाधानका लागि सम्बन्धित निकायले तत्काल चासो दिनुपर्ने बताउछन् ।

यसैबीच नहरमा आउने अव्यवस्थित पानीका कारण वर्षेनी हुने गरेको समस्यालाई समाधान गर्न बाढी नियन्त्रण तथा व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि एवम् सञ्चारकर्मी सहितको टोलीले आज जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई भेटेर टोलीले तत्कालिन एवम् दीर्घकालीन समाधानका सम्बन्धमा जानकारी गराइएको छ । छलफलका क्रममा समस्याको दीर्घकालिन समाधान खोजिनुपर्नेमा जोड दिदै वक्ताहरूले तत्कालका लागि बाँधाको रह, डाँडाको नाक जस्ता स्थानबाट पानी कटाउनुपर्ने बताए । समस्याको तत्कालिन समाधानका लागि विपद् कोषबाट बजेट विनियोजन गरिनुपर्नेमा सरोकारवालाको माग छ ।

कमेन्टहरु
Loading...