कास्की काँग्रेसले मुख्यमन्त्री भेटेर भन्यो, ‘आगामी बजेटमा खोपलाई पहिलो प्राथमिकता दिनुहोस्’

पोखरा । नेपाली काँग्रेस कास्कीका पदाधिकारी र क्षेत्रीय सभापतिले आइतबार गण्डकी प्रदेशका मुुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग भेटघाट गरेका छन् ।

कास्की काँग्रेसका सभापति कृष्ण केसी नेतृत्वको गएको टोलीले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरी केही सुझाव समेत दिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

कास्की काँग्रेसका सभापति केसीले कोरोना महामारीका कारण जनता समस्यामा रहेकाले जनताका लागि अत्यावश्यक कार्यक्रमलाई आगामी बजेटमा प्राथमिकता दिन आग्रह गरे ।

‘यतिबेला कोभिड विरुद्वको खोप पहिलो प्राथमिकता हो, उनले भने– गण्डकी प्रदेशका नागरिकलाई खोप दिन सक्ने गरी बजेट व्यवस्था गर्न आवश्यक छ ।’

सभापति केसीले कोरोनाबाट प्रभावित व्यवसायी, शिक्षक, मजुदर लगायतका क्षेत्रलाई राहत हुने गरी कार्यक्रम ल्याउन पनि अनुरोध गरे ।

सभापति केसीसहित उपसभापति आइ बहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रङ्गिला आचार्य, प्रवक्ता नवीन सिग्देल, क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’ र क्षेत्र नं ३ का सभापति पोषनाथ शर्माको टोली पुगेर मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरेको थियो ।

कमेन्टहरु
Loading...