पोखरा । अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीले तत्काल अनलाइन कक्षा संचालनको लागि क्याम्पसलाई ध्यानाकर्षण गराएको छ।
क्याम्पस कमिटी संयोजक विष्णु पोखरेलले सहितको टोलीले क्याम्पस प्रमुख प्राडा.सरोज कोइरालालाई अविलम्ब विद्यार्थीहरुलाई अनलाइन कक्षा मार्फत अध्यापन गराउन ध्यानाकर्षण पत्र बुझाएको हो ।
‘देशकै ठूलो र उत्कृष्ट क्याम्पस पृथ्वीनारायण क्याम्पसमा आंशिक शिक्षकहरूले समान कामको समान ज्यालाको मागसहित कडा आन्दोलन गरेको आज झण्डै डेढ वर्ष भईसकेको छ । आंशिक शिक्षकहरूको मागहरू पनि आफ्नो ठाउँमा जायज होलान् तर डेढ वर्षदेखि १२,००० विद्यार्थीहरू पठनपाठनबाट बञ्चित भईरहेको कुरालाई क्याम्पस प्रशासनले नजरअन्दाज गर्नुहुँदैन । त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत परीक्षाहरू सञ्चालन गर्ने तयारी गरिरहेको परिप्रेक्ष्यमा दुई वर्षमा पनि कोर्ष पूरा नहुँदा विद्यार्थीहरू पिडामा छन् । उज्वल भविष्यको परिकल्पना गरेर पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्न आउनुभएका विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरिएको कुरा अनेरास्ववियुलाई किमार्थ सह्य छैन ।’,ध्यानाकर्षण पत्रमा भनिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै क्याम्पस प्रमुख कोइरालाले आफुले आशिंक शिक्षकका माग बारे पहल गरिरहेको बताउँदै छिट्टै विद्यार्थीहरुले पढ्न पाउने वातावरण सिर्जना हुने बताए ।
उनले विद्यार्थीको पढाइप्रति अनेरास्वविबयुको क्रियाशिलता प्रति धन्यवाद दिदैं आफुले सक्दो पहल गरिरहेको र गर्ने भनाइ राखे ।
क्याम्पस कमिटी संयोजक पोखरेलले विद्यार्थीहरुले पढ्ने वातावरणको अवस्था नबने आफुहरु चुप लागेर नबस्ने अझ सशक्त रुपमा अगाडी बढ्ने बताए ।
क्याम्पसमा आंशिक शिक्षकहरुको आन्दोलनका कारण अनलाइन शिक्षा प्रभावित बनेको छ।