कांग्रेस प्रविधिमै सम्पन्न गर्दै क्रियाशील सदस्यताको कार्य

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तालिकाको मिति नजिकिएसँगै क्रियाशील सदस्यताको कामलाई तीब्रता दिएको छ ।

कांग्रेसले हालसम्म ६१ जिल्लाका १०१ स्थानका क्रियाशील सदस्यता पार्टीको वेवसाइटमार्फत सार्वजनिक गरिसकेको जनाएको छ ।

पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले गत वैशाख ३० गते ४५ जिल्लाका ८० स्थान र यही जेठ १५ गते १६ जिल्लाका २१ गरी १०१ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरिसकेको छ । नामावलीमा कुनै त्रुटि भएमा सच्याउनका लागि निर्देशन दिइएको समितिका सचिव केशव रिजालले जानकारी दिए। उक्त १०१ स्थानका लागि नामावली ‘इन्ट्री’ गर्ने सफट्वेयर बन्द गरिएको छ ।

देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा ‘इन्ट्री’ भइरहेको कुल २०७ स्थानमध्ये बाँकी १०६ स्थानमा बाँकी रहेका नामावली ‘इन्ट्री’ गर्न यही जेठ २५ गते राति १२ बजेसम्मका लागि कम्प्युटर सफ्टवेयरलाई खुला गरिएको सचिव रिजालले जानकारी दिए ।

केन्द्रबाट क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरिएका १०१ स्थानले तत्कालै र बाँकी १०६ स्थानले पनि यथाशीघ्र छिटो क्रियाशील सदस्यताका अन्य आवश्यक विवरण र शुल्क तत्काल केन्द्रमा पठाउन पार्टी कार्यालयले निर्देशन दिएको छ । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा पार्टीका जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण दुवै, बाँकी ४२ जिल्लामा जिल्ला समितिले नवीकरण तथा ४२ जिल्लाअन्तर्गतका १३० प्रतिनिधिसभा निर्वाचनका क्षेत्रीय समितिले नयाँ क्रियाशील सदस्यताको काम गरिरहेको कांग्रेसले जनाएको छ ।

कमेन्टहरु
Loading...