पोखरा । कोरोना भाइरस संक्रमणको पिसिआर नगरेर नै बैठक आह्वान गरिएको लगायतका विभिन्न विषयलाई लिएर अवरुद्ध भएको गण्डकी प्रदेशको विशेष अधिवेशन स्थगित भएको छ । प्रदेशको विशेष अधिवेशन सुरु भए लगत्तै पिसिआर परीक्षण गरेर मात्रै बैठक बोलाउनुपर्ने माग गर्दै सत्तारुढ नेकपा एमालेले नै आजको विशेष अधिवेशन अवरोध गरेका थिए । एमालेका सांसदले पिसिआर परीक्षण पश्चात् बैठक बोलाउन भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध जनाएपछि सभामुखले २० मिनेटसम्मका लागि स्थगित गरेका थिए ।
एमालेका सांसदले अवरुद्ध गरेपछि केही बेर बैठक रोकेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो ।
सो बैठकमा समेत एमाले सांसदले पिसिआर परीक्षण गर्नुपर्ने माग गरेका थिए । सांसदको माग पछि पिसिआर परीक्षण गर्ने निर्णयसहित बुधबार बैठक फेरी बस्ने सहमति भएको छ । सांसदको आजै पिसिआर परीक्षण गर्ने र उक्त परीक्षणको रिपोर्ट आए पनि मात्रै बुधबार दिउँसो १ बजे बैठक बस्ने सहमति भएको प्रदेशसभा सांसद कृष्णबहादुर थापाले जानकारी दिएका छन् ।
कोरोना भाइरस संक्रमण पुष्टि भएको अवस्थामा सांसदले निजी सवारीासधनमा आएर प्रदेशसभामा आएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान गर्न पाउने भएका छन् ।
संक्रमित भएको अवस्थामा सांसदले बैठकमा भने सहभागिता जनाउन पाउने छैनन् ।