पोखरा । गण्डकी प्रदेशको संसद बैठक अवरुद्ध भएको छ । कोरोना भाइरसको पिसिआर परीक्षण नगरिएर बैठक आह्वान गरिएको भन्दै सत्तारुढ नेकपा एमालेका सांसदले नै प्रदेशको संसद बैठक अवरुद्ध गरेका हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध वैशाख २ गते दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न भन्दै विशेष अधिवेशन बोलाइएको थियो । विशेष अधिवेशनको आज तेस्रो दिन अवरुद्ध भएको हो ।
आज बैठक सुरु भए लगत्तै सत्तारुढ एमालेका सांसदले उठेर विरोध जनाएका थिए ।
उनीहरुले प्रदेशसभा कर्मचारी तथा सांसदको समेत कोरोनाको पिसिआर परीक्षण गरेर मात्रै बैठक बोलाउन माग गरेका थिए । यता विशेष अधिवेशन अवरुद्ध गरेर सत्ताको आयु लम्ब्याउने खेल भएको विपक्षी दलले आरोप लगाएका छन् ।
सांसद राजीव पहारीले पोखरामा कोरोना संक्रमणको दर वृद्धि भएको, कुनै पनि सांसदले खोपको दोस्रो डोज प्रयोग नगरेको तथा जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा समेत जारी गरिसकेको अवस्थामा बैठक चल्न नदिने बताएका छन् ।