काँकडभिट्टामा भारतबाट फर्किनेको भीड बढ्यो, शंकास्पद बिरामीलाई राख्न छैन होल्डिङ सेन्टर

झापा । पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शंकास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा १ हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

स्थानीय स्रोत साधन अपर्याप्त भएको जनाउँदै बैठकले यसको निर्माणका लागि प्रदेश र संघीय सरकारसँग सहयोगको आग्रह गरेको उनले जानकारी दिएका छन् । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र दरमा फैलिएपछि स्वदेश फर्किनेको नाकामा भीड लाग्न थालेको छ । अहिले नाका भित्रिनेलार्ई सुरक्षा निकायले निर्माण गरेको चेकजाँच स्थलमा केहीबेर राखेर पठाइने गरेको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नाकामा होल्डिङ सेन्टर बनाउने विषय नगरको मात्र नभएर प्रदेश र संघीय सरकारको सरोकारको विषय भएको बताएका छन् । उनले जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारसँग यस विषयमा सल्लाह भइरहेको जानकारी दिएका छन् । भारतबाट आउने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएमा मेचीनगरबासी भए तत्कालै नगरपालिकाको एम्बुलेन्सले आवश्यकता अनुसार होम आइसोलेसनसम्मै पु¥याउने गरिएको उनले बताए । गत वर्ष काँकडभिट्टा माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । विद्यालय सञ्चालन गरिने भएपछि होल्डिङ सेन्टर बन्द गरिएको थियो ।

नाकाको मेची पुलको मुखमै हाल नेपाली सेनाले ३ वटा टेन्ट टाँगेर कामचलाउ होल्डिङ सेन्टर निर्माण गरिदिएको र त्यहाँ २५ जनासम्म राख्न सकिने क्षमता रहेको मेचीनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष ललित तामाङले जानकारी दिएका छन् ।

उनले नाकामा गत वर्षको झैं होल्डिङ सेन्टर व्यवस्थित गर्न आवश्यक रहेको जनाउँदै क्वारेन्टाइन र कोभिड हस्पिटल समेत नाका नजिक सञ्चालन गर्न आवश्यक भइसकेको बताए । जिल्लामा हालसम्म संक्रमितको संख्या ४ हजार ८ सय १९, डिस्चार्ज ४ हजार ५ सय १९, आइसोलेसनमा १ सय ६९ जना, कुल संक्रमित एन्टिजेन २९ जना र ज्यान गुमाउनेको संख्या १ सय ३१ जना पुगेको छ ।

बार एसोसियसनको आग्रह

यसैबीच नेपाल बार एसोसिएसनले कोभिड–१९ को महामारी बढ्दै गएकोप्रति चिन्ता जनाउँदै सरकारी कार्यालयमा भीडभाड नियन्त्रण गर्न ध्यानाकर्षण गराएको छ । बार एसोसिएसन तथा सोही मातहत रहेको मानव अधिकार तथा जनसरोकार समितिले विज्ञप्ति जारी गर्दै संघीय, प्रादेशिक तथा स्थानीय सरकारले नागरिकको स्वास्थ्य सुरक्षाप्रति समयमै संवेदनशिल बन्नुपर्ने अन्यथा समस्या जटिल बन्ने उल्लेख छ । सीमामा हुने आवतजावतलाई कडाईका साथ लागु गर्दै निगरानी बढाउन र नागरिकको जीवन रक्षाका लागि सीमामा खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई उचित स्वास्थ्य सामग्री उपलब्ध गराई कोभिड नियन्त्रण गर्न बार एसोसिएसनले आग्रह गरेको छ । विज्ञाप्तिमा आपतकालीन रुपमा आवश्यक पर्ने अक्सिजन तथा अन्य आवश्यकीय स्वास्थ्य सामग्रीको प्रबन्धर व्यवस्थापन गर्न माग गरिएको छ । रासस

कमेन्टहरु
Loading...