काठमाडौं । उपत्यकाबाट आफ्नो घर फर्किन नागरिकले २ दिनको समय पाउने भएका छन् ।
लकडाउन गर्नुपूर्व सरकारले नागरिकलाई २ दिन समय दिएको हो । पछिल्लो अवस्थामा कोरोना भाइरस संक्रमणको दर गम्भीर देखिएपछि कम्तीमा १ हप्ता निषेधाज्ञा वा लकडाउने हुने भएकाले त्योभन्दा अगाडि नागरिकलाई घर फर्किन २ दिनको समय प्रदान गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
काठमाडौंसहित भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारी बैठक बसेर १ हप्ताका लागि उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो । सम्बन्धित तथा तोकिएको कुनै एक क्षेत्रलाई मात्र पूर्ण रुपमा बन्द गराउँदा कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न नसकिने भन्दै सबै क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्ण भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन् ।
सर्वसाधारणलाई लकडाउन गर्नुभन्दा अगाडि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न अपील गरिएको भए पनि पालना नहुँदा कोरोना संक्रमणको स्थिति गम्भीर बनेको ३ वटै प्रशासनले निष्कर्ष निकालेको छ ।
परिस्थिति थप भयावह नबनोस् भन्नाका लागि निषेधाज्ञा आवश्यक रहेको उनले बताएका छन् ।