सिन्धुली । जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न १ हप्ता लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका ३ वटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिएका छन् । उनेल भने, ‘हामीले नगरका ३ वटा वडामा कोरोना संक्रमण बढी फैलन सक्नेतर्फ सचेत हुँदै लकडाउन गर्ने निर्णय गरेका हौं ।’ उनका अनुसार नगरपालिकाका वडा १, २ र ४ मा वैशाख १० देखि १७ सम्म लकडाउन घोषणा गरिएको छ ।
बुधबार दुधौली नगरपालिका–१ का १ जना व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरको विपद् व्यवस्थापन समितिको बैठकले लकडाउन घोषणा गर्ने निर्णय गरेको हो । लकडाउनको घोषणा भएका क्षेत्रमा अति आवश्यक सेवा (एम्बुलेन्स, दमकल, स्वास्थ्य सेवा, दूध, तरकारी फलफूल, खाद्यान्न पसलबाहेक शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वडा कार्यालय (वडा नं ४ बाहेक) बजार, होटल, यातायातका सेवा र अन्य व्यवसाय पनि बन्द रहनेछ । लकडाउनको उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गरिने पनि उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाभर सभा सम्मेलन, गोष्ठी संघसंस्थाका कार्यक्रममा सरकारले तोकेको मापदण्डअनुसार २५ भन्दा बढी मानिस सहभागी नगराई सामाजिक दूरी कायम गरी कार्यक्रम नगर्न आग्रह गरेको छ । जिल्लाको गोलन्जोर गाउँपालिकाले पनि कोरोनाको संक्रमण फैलनसक्ने जनाउँदै साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम हुन नदिन खनियाँखर्क, खुर्काेट, ग्वाल्टार र च्याकुटार बेँसीमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने गाउँपालिकाले जनाएको छ ।
ती क्षेत्रमा रहेका विद्यालय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सम्बद्ध निकायका कर्मचारीलगायत सबैमा सेवा लिँदा–दिँदा र सामाजिक गतिविधि गर्दा स्वास्थ्य संवेदनशीलतालाई समेत ध्यानमा राख्दै सेवा आदानप्रदान निर्देशन दिइएको छ । रासस