टुकी बाल्ने गाउँमा बिजुली पुगेपछि…

तनहुँ । टुकीका भरमा जीवन निर्वाह गर्दै आएका तनहुँका २ पालिकाका ३ वडामा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । जिल्लाको ब्यास नगरपालिका–१३, १४ र बन्दीपुर गाउँपालिकाको वडा नं ६ मा बिजुली बलेपछि स्थानीयवासी खुसी भएका छन् । बन्दीपुर गाउँपालिका–६ को खहरेटार, ढाप, थुमथुमे तथा ब्यास नगरपालिका–१३ र १४ को मास्दीघाट, सुढे, रिजाल्दीका गरी १ सय १५ घरपरिवारमा विद्युत् बिस्तार गरिएको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिएका छन् । विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यसक्षेत्रमा अघिल्लो वर्ष बत्ती बाल्ने योजना रहे पनि कोरोना र बाढी पहिराका कारण ढिलाइ हुन गएको हो ।

क्षेत्रका सबै घरमा विद्युत् बिस्तार गरिएको वितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजनाअन्तर्गत विद्युकरण आयोजना साइट इञ्चार्ज इञ्जिनीयर लक्ष्मण रेग्मीले बताए । जिल्लाको देवघाट र रिषिङगाउँपालिका केही वडामा विद्युत् विस्तारको काम भइरहेको छ । उनले भने, ‘देवघाट गाउँपालिका–३ मा विद्युत् जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’

उक्त वडामा विद्युत् जडानपश्चात् १ सय ५० बासिन्दा लाभान्वित हुन बताइएको छ । उनका अनुसार देवघाट गाउँपालिका–२ को सबै क्षेत्रमा विद्युत् जडान गर्ने कार्य बाँकी रहेको छ । देवघाट–१ को केही भागमा बत्ती बालिसकेको र केही क्षेत्रमा जडानको कार्य भइरहेको छ । त्यसैगरी रिषिङ गाउँपालिका–६ मा ट्रान्समिटर जडान गरी विद्युत् लाइनको बिस्तार कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ । सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सहयोग गरेको हो । कतिपय स्थानमा सामान ढुवानी गरेर लैजान गाह्रो हुने भएका कारणले गर्दा पनि समयमा सम्पन्न गर्न नसकिएको आयोजनाले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गर्ने कार्यक्रम रहेको छ । ती घरधुरीमा विद्युतीकरणका लागि ८८ करोड बजेट खर्च हुने अनुमान गरिएको छ । सोलार र टुकीका भरमा बस्दै आएका बन्दीपुर गाउँपालिका–६ खहरेटार, ढाप, थुमथुमेमा बत्ती बलेसँगै गाउँपालिका अन्धकारमुक्त बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताएका छन् । ब्यास नगरपालिका–१४ स्थित मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सौर्य ऊर्जा प्रयोग गर्दै आएका स्थानीयवासीको घरमा बिजुली पुगेपछि हर्षित भएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताएका छन् । उक्त क्षेत्रमा विद्युत् बिस्तारसँगै वडा अन्धकारमुक्त बनेको छ । उनले भने, ‘अहिले घरघरमा बिजुली पुगेपछि गाउँ नै झलमल्ल भएको छ भने गाउँको मुहार फेरिएको आभास गराएको छ ।’

तनहुँसुर र मेलामा १० हजार आन्तरिक पर्यटक

ब्यासनगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरमा आयोजना गरिएको पर्यटन सम्पदा वातावरण मेलामा करीब १० हजार आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । आइतबार र सोमबार गरी २ दिनको अवधिमा विभिन्न क्षेत्रबाट तनहुँसुरमा रहेको ऐतिहासिक सम्पदाको अवलोकन तथा मेला हेर्न आन्तरिक पर्यटक गएका हुन् । उक्त कार्यक्रममा तनहुँका विभिन्न क्षेत्र, छिमेकी गोरखा, लमजुङ, कास्कीलगायतका स्थानबाट आन्तरिक पर्यटकको आगमन रहेको आयोजक समितिले बताएको छ ।

बसाइँसराइले उजाड बन्दै गएको तनहुँसुर क्षेत्रलाई पुनः हराभरा बनाउन र यहाँका विविधताको प्रचारप्रसार गर्ने उद्देश्यले यही वैशाख ५ देखि ७ गतेसम्म उक्त मेला महोत्सवको आयोजना गरिएको हो । दोस्रो दिन सोमबारको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले तनहुँसुरको पर्यटन विकासका लागि गण्डकी प्रदेश सरकारबाट सक्दो पहल कदमी थालिने बताइन् । उनले ऐतिहासिक सम्पदा राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षण सम्वद्र्धन गर्दै पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित गराउन लाग्नुपर्नेमा जोड दिएकी छिन् ।

उक्त स्थलमा पुरातात्विक विभागले तनहुँसुरमा पछिल्लो समय भएका गतिविधिको फोटो प्रदर्शनी तथा ऐतिहासिक सम्पदाको फोटो प्रदर्शनी गरेको थियो । उक्त मेलामा स्थानीय समुदायको आयोजनामा प्रांगारिक खानाको परिकारले पाहुनालाई स्वागत सत्कार गरिएको थियो ।

सेलरोटी, तरुल, भ्याकुर, गुन्द्रुक, भट्ट, मकै, सिस्नोको सुप, लोकल कुखुराको मासु, फापर, टर्की, सुँगुरको अधिकतम प्रयोग गरी पकाइएका परिवार कक्षमा समावेश गरिएको थियो । वडाध्यक्ष निरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हालै निर्वाचित बनेका तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, नवनिर्वाचित दमौली बजार एकाइका सभापति भुपाल आले, ब्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठलगायतका वक्ताले तनहुँसुरको मुहार फेरिने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । स्थानीय तनहुँसुर देवस्थल सामुदायिक होमस्टे र तनहुँसुर सामुदायिक होमस्टेद्वारा आयोजित मेलाको संरक्षकमा ब्यास नगरपालिका र भानुनगरपालिका कार्यालय रहेका छन् भने सहआयोजकमा स्थानीय ७ वटा सामुदायिक वन उपभोक्ता समिति रहेका छन् ।

पर्यटकीयस्थलमा चहलपहल घट्दै

कोभिड–१९ को सङ्क्रमण पुनः देखिन थालेसँगै नेपाल सरकारले भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्ने लगायतका निर्देशन जारी गरेपछि तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल घट्न थालेको छ । जिल्लाको मानुङकोट, बन्दीपुर, आँधीमूल मन्दिर, छाब्दी बाराही मन्दिर, तनहुँ कालिका, अकला देवी मन्दिर, थानीमाई, छिम्केश्वरी, तनहुँसुरलगायतका धार्मिक, ऐतिहासिक र सांस्कृति क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल घट्न थालेको हो । छोटो अवधिमा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको परेवा डाँडा पुनः कोरोनाको हल्ला चल्न थालेपछि पर्यटकको आगमनमा कमी हुन थालेको छ ।

तनहुँको ब्यास–१० स्थित ऐतिहासिक परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरेर संरक्षण गर्न थालेपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । ब्यास–५ स्थित मानहुँकोट डाँडा एकाएक चर्चामा आएपछि परेवा डाँडामा पनि पर्यटकको आर्कषण बढ्दै गएको थियो ।

उक्त वडास्थित मादीनदीस्थित पहरामा परेवा बस्ने गरेको र पछिल्लो समय लोप हुँदै गएको थियो । पछि उक्त स्थानको नाउँ नै परेवाडाडाँ हुन गएको किंवदन्ती रहिआएको छ । पछिल्लो समय गुलेली र बम हान्ने जस्ता कार्यले परेवा विस्थापित हुँदै गएकाले त्यसलाई जीवन्त राख्न ब्यास नगरपालिकाले परेवाको मूर्ति निर्माण गरेर संरक्षण गर्न थालेपछि पर्यटकको चहलपहलमा वृद्धि भएको थियो ।

परेवाको मूर्ति निर्माण गरिएपछि दिनमा ८० देखि १ सय ५० सम्म जोडी आएर फोटो खिच्ने, सेल्फी लिने र टिकटक बनाउनेलगायतका कार्यका लागि जाने गरे पनि पछिल्लो समय घट्दै गएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । उनका अनुसार नेपाल सरकारले भीडभाड नगर्ने सामाजिक दूरी कायम गर्नेलगायतका निर्देशन जारी गरेपछि पर्यटकको आगमनमा ह्वात्तै घटेको हो ।

उक्त स्थानबाट मादीनदीको पानी कलकल बगेको आवाज, मनासलु, अन्नपूर्णलगायतका दृश्य अवलोकन, गलेखामकोट, मानहुँकोट, काहुँडाँडा दुम्सीकोट कालिका मन्दिर, क्यामिनकोट कालिका, कलेस्ती फाँट, तनहुँ कालिका र दमौलीका केही भागलगायतका ऐतिहासिक एवं धार्मिकस्थलको अवलोकन गर्न सकिनेछ । ‘नजिकको तीर्थ हेला भनेजस्तो भएको छ ।’ वडाध्यक्ष सापकोटाले भने, ‘यहाँको प्रचुर सम्भावना हुँदाहुँदै हामीले बेवास्ता गरेकाले ओझेलमा पर्दै गएकाले संरक्षण गरिएको हो ।’

त्यसैगरी सोही स्थान नजिकै व्यक्तिको निजी खर्चमा निर्माण गरिएको फनपार्कमा समेत पर्यटकको आगमनमा कमी हुन् थालेको पिजनहिल टिकटक पार्क प्रालिका सञ्चालक विवेक सापकोटाले बताएका छन् । परेवा डाँडा र टिकटक पार्कमा आन्तरिक पर्यटकको उल्लेखनीय आगमन हुने गरे पनि पुनः कोरोनाको हल्लाले पर्यटकको संख्या ह्वात्तै घटेको उनले जानकारी दिएका छन् ।

उक्त पार्कमा बच्चा, वयस्कदेखि वृद्धवृद्धाले मनोरञ्जन लिनसक्ने व्यवस्था छ । उनले कोरोनाको हल्लासँगै कर्मचारीलाई तलब खुवाउन धौ धौ हुन थालेको दुखेसो पोखे । अघिल्लो वर्ष कोरोनाले करिब ७ महिना थला परेको व्यवसायी केही महिना तंग्रिन थाले पनि पुनः उस्तै समस्या भोग्नुपर्ने देखिएको उनले बताए । बन्दीपुरमा नयाँ वर्षको दिन उल्लेखनीयरूपमा पर्यटकको आगमनका साथै रमाइलोमा रम्ने गरे पनि त्यसपछि पर्यटकको संख्या घट्दै गएको पर्यटन व्यवसायी बैश गुरुङले बताए ।

मिर्गौला पीडितलाई २ लाख सहयोग

ब्यास–१४ केशवटार निवासी मिर्गौलापीडित मेगीसारा थापालाई उपचारका लागि २ लाख १२ हजार ८८ सहयोग प्राप्त भएको छ । दमौली–केशवटार समाज समितिका संयोजक युवाराज आलेले मिर्गौला पीडितका श्रीमान् खेमबहादुर आलेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

मिर्गौला पीडित थापालाई उपचारका लागि पहिलो चरणमा १ लाख ३७ हजार ६ सय ३८ र आइतबार ७४ हजार ४ सय ५० गरी उक्त रकम हस्तान्तरण गरिएको आलेले बताएका छन् । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएपछि आर्थिक अवस्था नाजुक रहेको थापा परिवारले सहयोगको लागि अपिल गरेको छ । मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोग गरिदिन श्रीमान् थापाले सबैसँग अनुरोध गरेका छन् । मिर्गौलापीडित थापाको हाल चितवनको पुरानो मेडिकल कलेजमा डायलासिस भइरहेको छ ।

ब्यास–१४ केशवटारका युवाको सक्रियतामा समाजमा दुःख, पीडामा र घरको आर्थिक अवस्था नाजुक भएका दीर्घरोगीलाई सहयोग जुटाउँदै आएको संयोजक आलेले बताए । यसअघि पनि दमौली केशवटार समाजको पहलमा सोही वडा निवासी सन्तोष रानाको उपचारका लागि ३१ लाखभन्दा बढी रकम संकलन गरी हस्तान्तरण गरिएको संयोजक आलेले जानकारी दिएका छन् ।

हावाहुरीबाट ५ लाखको क्षति

हावाहुरीका कारण तनहुँमा एकैदिन ५ लाख बराबरको क्षति भएको छ । गत शनिबार बेलुकी आएको हावाहुरीका कारणले जिल्लाका विभिन्न क्षेत्रमा हावाहुरीले क्षति पु¥याएको हो । हावाहुरीका कारण जिल्लाको भानु नगरपालिका–१३ स्थितमा बसोबास गरिरहेका ११ घरधुरीमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोही वडामा बसोबास गरिरहेका पाँच घरधुरी, भीमसेन प्रावि स्कुलको छानाको टिनसमेत गरी ४ लाख ८० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यसैगरी देवघाट गाउँपालिका–३ स्थित १ घरमा अन्दाजी २० हजार र बन्दीपुर गाउँपालिका–६ अन्तर्गत रहेको १ घरमा अन्दाजी २० हजार क्षति पुगेकोे छ । रासस

कमेन्टहरु
Loading...