चितवन । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा २ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार ज्यान गुमाउनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय २ पुरुष रहेका छन् ।
तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा ज्यान गएको हो । घाइते ७ जनामध्ये पुरानो मेडिकल कलेजमा २ जना, चितवन मेडिकल कलेजमा १ जना र भरतपुर सरकारी अस्पतालमा ४ जनाको उपचार भइरहेको छ ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो । रासस