म्याग्दी । धवलागिरी गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको ३ घण्टामै बेनी आइपुग्छन् । गाडी चढेर मल्कवाङबाट हिँडेको ३ घण्टामै बेनी आउन पाएकामा छन्त्याल दंग परे । ‘यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो ।’ उनले भने, ‘गाउँमा सडक पुगेकाले छिटो र सजिलो भएको छ ।’ धवलागिरी–४ मुदीका विजय घर्तीमगरले २ हजार लिटर भिरमह गाउँबाट सिधै पोखरा पु¥याएर बेचे । ‘जडीबुटी र मह ढुवानी गर्न व्यापारीले हेलिकोप्टर चार्टर्ड गर्थें ।’ उनले भने, ‘सडक आएपछि गाडीमा सस्तो र सजिलै बजारमा मह लैजान पाइयो ।’
भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुदी र मल्कवाङ सडक सञ्जालमा जोडिएपछि स्थानीयवासीलाई आवतजावत, ढुवानी र गाउँका जडीबुटी, कृषि उपज र खसीबोका निकासी गर्न सहज भएको छ ।
यसअघि सडक र यातायात सुविधा नहुँदा घोडा, खच्चर र भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महंगो पथ्र्यो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको मुदीका धनबहादुर घर्तीमगरले बताए । फलियागाउँबाट दर हुँदै मुदी र मराङको बेंसीबाट आरवाङ हुँदै मल्कवाङ जोड्ने सडकमा जीप, ट्र्याक्टर र मोटरसाइकल चल्न थालेका छन् । विसं २०७३ मा सुरु भएको ६ किलोमिटर दूरीको मुना–मुदी सडक निर्माणमा तत्कालीन जिविस र गाउँपालिकामार्फत ३ करोडभन्दा बढी लगानी भएको छ ।
‘अक्करे र जोखिमयुक्त सिम्वाङको भिरलगायतका ठाउँमा पहाड फुटाएर बस चल्ने सडक बनाएका छौं ।’ धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले भनिन्, ‘मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङ, सिम्कोसका १ हजार घरधुरी लाभान्वित भएका छन् ।’
प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले १ करोड ५२ लाखको लागतमा मराङको बेंसीबाट आरवाङ–हाङवाङ हुँदै मल्कवाङ जोड्ने ११ किलोमिटर सडक निर्माण गरेको हो ।
मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगंगा गाउँपालिकाको कुइनेखानीका करिब ५ सय घरधुरी लाभान्वित भएका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताइन् । ‘यस सडकले मराङको आरवाङ, रिखा, घण्टीवाङ, हाङवाङका डेढ सय घरधुरीलाई सुविधा पुगेको छ ।’ उनले भनिन्, ‘बेंसीबाट पैदलयात्रा गरेर मल्कवाङ पुग्न दुई घण्टा लाग्दथ्यो । गाडीबाट ३० मिनेटमै पुगिन्छ ।’
७ वटा वडा रहेको धवलागिरीको गुर्जाबाहेक छवटा वडामा सडक सञ्जाल पुगेको छ । प्रदेश सरकारमार्फत् म्याग्दीखोला र मराङखोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । गाउँपालिकाले अस्थायी पुल बनाएको दाङखोलामा पक्की पुल बनाउन ठेक्का लागेको छ ।
मुदी जोड्ने सडकको दरखोलामा पनि मोटरेबल पुल निर्माणका लागि यस वर्ष संघ सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । ‘गुर्जामा आन्तरिक सडक खन्ने र अन्य वडा तथा बस्तीमा खनिएका सडक स्तरोन्नतिमा प्राथमिकता दिएका छौं ।’ उनले भने, ‘बाह्रै महिना यातायात सञ्चालनको व्यवस्था मिलाउन मोटरेबल पुल निर्माण पनि अघि बढेको छ ।’ रासस