कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति निधन भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना संक्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताएका छन् । ‘भर्खरै कोरोना संक्रमितको निधन भएकोबारे खबर पाएको छु ।’ उनले भने, ‘अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।’
कोरोनाको दोस्रो संक्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा पहिलो निधन भएको छ । यसअघि कञ्चनपुरमा कोरोना संक्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट १ हजार ९ सय ८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन् । मंगलबारमात्रै भीमदत्त नगरपालिका–२ का २ जनामा कोरोना संक्रमण देखिएको छ । रासस