दैलेख । दैलेखमा आफ्नै ज्वाईंले खुकुरी प्रहार गर्दा २ जना वृद्धवृद्धा घाइते भएका छन् । जिल्लाका नौमुले गाउँपालिका वडा नम्बर ४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोकामगर तथा ५५ वर्षीय लालसरी रोकामगरलाई उनकै ज्वाईं नौमुले ४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोकामगरले खुकरी प्रहार गरेका हुन् ।
झपिलाल तथा लालसरीले आफूले विवाह गरेपछि समेत छोरीलाई माइतमा नै राखेको भन्दै अनरामले उनीहरुमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुवै जना गम्भीर घाइते भएका छन् । अनरामलाई प्रहरीले खुकुरी प्रहार गरेपछि भाग्दै गरेको अवस्थामा नौमुले ५ चिसापानीबाट पक्राउ गरिसकेको छ । उनलाई साधा पोसाकका प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारले हाल अनरामलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जानकारी दिएका छन् । अनरामविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको प्रहरी निरीक्षक सुनारले बताएका छन् ।
दैलेख जिल्ला अस्पतालमा ज्वाईंको खुकुरी आक्रमणबाट गम्भीर घाइते भएका झपिलाल तथा लालसरीको उपचार भइरहेको छ । अस्पतालका डा.जीवन ज्ञवालीले दुवैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएको छन् ।
झपिलाल तथा लालसरीकी माइली छोरी बिमलाले ९ वर्ष अगाडि अनरामसंग प्रेम विवाह गरेकी थिइन् । तर अनरामले बिमलालाई मदिरा सेवन गरेर दिनहुँ घरमा कुटपिट गर्थे । कुटपिट सहन नसक्ने भए पनि बिमला करिब ३ महिनादेखि १ छोरी र १ छोरालाई लिएर माइतमा बस्दै आएकी थिइन् । श्रीमती माइतमा बस्न गएपछि अनरामले त्यसैको रिस पोख्न सासुससुरालाई खुकुरी प्रहार गरेको प्रहरी समक्ष बयान दिएका छन् । बिमलाका बुबा झपिलालका अनुसार श्रीमती र छोराछोरीलाई लिन अनराम २ महिना पहिले पुगेका थिए । तर झपिलालले सल्लाह तथा छलफल चल्दै गर्दा छोरीलाई घर पठाउँदिन भनिदिँदा अनराम रिसाएका थिए ।
अनरामले राति ३ बजे सबैभन्दा पहिले ससुरा झपिलाललाई खुकुरी प्रहार गरेका थिए । झपिलालले ओढेको सिरक हटाएर उनको टाउकोमा प्रहार गर्न खोज्दा हातले छेकेका थिए । हातले छेकेर टाउको बचाउँदा खुकुरी प्रहारबाट उनको टाउकोमा कम चोट लागेको छ । पछि अनरामले झपिलालको गर्धनमा प्रहार गर्न खोज्दा उनले जोगिने प्रयास गर्दा उनको छातिमा चोट लागेको छ ।
अनरामले दोस्रो पटक खुकुरी प्रहार गरेपनि तेस्रो प्रहार गर्न लाग्दा श्रीमान्–श्रीमती दुवैले उनको हातबाट खुकुरी खोस्ने क्रममा दुवैको हत्केलामा चोट लागेको छ । त्यसपछि भने अनराम भागेको उनीहरुले बताएका छन् । दोस्रो चोट लागेपछि लालसरीले छिमेकीसंग सहयोग मागेकी थिइन् । छिमेकी आएपछि अनराम खुकुरी लिएरै भागेका हुन् । गाउँलेलाई समेत खुकुरी देखाएर भागेका थिए । तर अनरामले खुकुरी घटनास्थलभन्दा ५ सय मिटर टाढा निगालाको झ्याङमा फालेका थिए ।