नेपाल फर्किने टिकट काटेका गगन कोरियामै अस्ताए

काठमाडौं । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया पुगेका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको ४ वर्ष १० महिना अवधि पूरा गरी अबको ९ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए ।

एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासी ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए ।

तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत् नजिकैको अस्पताल पु¥याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासैनीले बताएका छन् ।

घटनाको प्रकृति हेर्दा हृदयाघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताएका छन् । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्यसमेत रहेका थिए । अविवाहित गगनको परिवारमा बाबा आमा र १ बहिनी रहेका छन् । रासस

कमेन्टहरु
Loading...