पोखरा । पोखरामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको छ । संक्रमितको दर बढिरहँदा रंगहरुको पर्व फागु पनि आएको छ । पर्वमा मानिसको चहलपहल बढेसँगै कोरोना संक्रमणको दर ह्वात्तै बढ्न सक्ने सम्भावनाले सरकारले भीडभाड नगर्न आदेश जारी गरेको छ । सोही अनुरुप जिल्ला प्रशासन कार्यालय कास्कीले होलीमा भीडभाड नगर्न सूचित गरेको छ ।
पर्वको समयमा सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा निकाय बढी खटिनुपर्ने हुन्छ । यतिबेला जिल्ला प्रहरी कार्यालय कास्कीलाई फागुमा हुने सम्भावित दुर्घटना र कोरोना नियन्त्रणमा खटिनु परेको छ । फागु र कोरोनामा प्रहरीको परिचालन र सक्रियताको सुरक्षा विषयमा जिप्रका कास्की प्रमुख एवं प्रहरी उपरीक्षक जीवन श्रेष्ठसँग गन्थनकर्मी रिना थापाबीचको कुराकानीः
फागुमा सुरक्षा प्रणाली कस्तो छ ?
फागू मनाउने क्रममा कुनैपनि दुर्घटना नहोस्, अप्रिय घटनाहरु नहोस्, इच्छाविपरीत रंग लगाउने गतिविधि नहोस् भन्नेमा हामी चनाखो छौं ।सवारीसाधन चलाउँदा कुनैपनि घटना दुर्घटना हुन नपाओस् भन्ने हिसाबमा हामी सतर्क छौं । यस विषयलाई ध्यान दिएर टिम परिचालित हुनेछ । दिनभर विभिन्न ठाउँमा एरिया छुट्याएर प्रहरी परिचालने हुनेछ । चेकपोइन्टदेखि लिएर पैदल गस्ती, पिकेट गस्ती, मोबाइल गस्ती गर्छौै । सम्भावित दुर्घटना नहोस् भन्ने हिसाबले प्रहरी सजग र सचेत छ ।
जिल्लामा कति प्रहरी परिचालित हुँदै छन् ?
हामी सामान्य समयमा पनि जिल्लाभर सिफ्ट अनुसार ७ सय २३ जना परिचालित हुन्छौं । उक्त संख्या नियमित हो । तर फागुकोे दिन बढी सहरकेन्द्रित रहेर दूई गूणा बढी प्रहरी खटिनेछ । अपरान्हको समयपछि ट्राफिक चेकप्वाइन्टमा फोकस हुनेछौं । फागु मनाउने क्रममा उच्छृंखल गतिविधि रोक्न, मापसे गरी सवारीसाधन चलाउन नदिन सक्रिय रहनेछौं । झैझगडा हुन नदिन र दुर्घटना घट्न नदिन प्रहरीले विशेष ध्यान दिनेछ ।
फागु र पर्वका समय मापसेले दुर्घटना निम्त्याएकोप्रति कति जानकार हुनुहुन्छ?
पक्कैपनि, पर्व र चाडवाडमा दुखका खबर सुन्नु परेको छ । सोही कारण प्रहरी कडा चेकजाँचमा केन्द्रित रहनेछ । चेकिङ, पैदल र मोबाइल गस्तीमार्फत अप्रिय घटना हुन नदिन प्रहरी तदारुकताकासाथ लाग्नेछ, लागिरहनेछ । एरिया विभाजन गरी प्रहरी खटिनेछ । फागुमा २६ वटा मोबाइल युनिटसमेत खटिने छन् । सकेसम्म कुनैपनि घटना दुर्घटनामा परिणत नहोस् भन्ने हिसाबले नै हामी परिचालित हुने हो । दुर्घटना भए तत्काल उद्धारमा जुट्ने र दोषि पहिचान गरी कारवाही अघि बढाउन प्रहरी सक्रिय रहनेछ ।
चाडपर्वको समयमा परिचालित प्रहरीनै मादकपदार्थ सेवन गरेको गुनासो आउँछ नि ?
कुनैपनि प्रहरी त्यस्ता गतिविधिमा संलग्न भएको पाइए प्रहरी नियमावली र आचारसंहिता अनुरुप कारवाही हुन्छ । तर मलाई विश्वास छ मेरा प्रहरीहरु त्यस्ता गतिविधिमा संलग्न हुनुहुन्न । जनताको सेवा, सुरक्षा र कानून कार्यान्वयनमा चुस्त दुरुस्त भएर खटिनुहुनेछ ।
पोखरामा कोरोना संक्रमणको त्रास पुनः देखिएको छ, तयारी कस्तो छ ?
हो, संक्रमण फेरि बढ्दैछ । पोखरा र जिल्लामा बढेको संक्रमणबारे प्रहरी जानकार छ । स्वास्थ्य मन्त्रालय र स्थानीय प्रशासनले पनि अनावश्यक भीडभाड नगर्न सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत कोरोनाको संक्रमण बाट बच्न र होशियारी अपनाउन सूचना प्रकाशन भएपछि उन्मुक्त वातावरणमा फागु मनाउन सम्भव छैन । कोरोनाबाट बच्न सर्वप्रथम स्वयं अनुशासित हुनु नै प्रमुख हो । जिम्मेवार प्रहरीको हिसाबले मैले पनि त्यही आग्रह गर्दछु । आफ्नै घर, कम्पाउण्डमा सुरक्षित भएर फागु मनाउन अनुरोध गर्दछु । सकेसम्म आफन्तजनसँग मात्र रमाउनु होला । बिहीबारदेखि सार्वजनिक स्थानमा भीड गरी फागु नमनाउन अपील गरेका छौं । घरघरै पुगेर भन्न सकिँदैन तर माइकिङ गरिरहेका छौं ।
होलीमा जबरजस्ती रंग लगाउने गतिविधिबारे कस्तो कदम चाल्नुहुन्छ ?
‘जबरजस्ती’ भन्ने शब्द नै कानून विपरित हो । जुन कारवाहीयोग्य हुन्छ । यसैपनि, फागु हर्ष, उमंग र उल्लासको पर्व हो । यसर्थ, प्रहरीको काम सर्वप्रथम सम्झाइ–बुझाई गरी वातावरणलाई नियन्त्रित गर्नु हो । अटेर गरे प्रहरीले एक्सन लिनेछ । हामी आफै सचेत भई एकअर्कामा सम्मानको वातावरण तयार पारी रमाउनु हाम्रो दायित्व हो । तर इच्छा विपरित कुनैपनि गतिविधि भए प्रहरी कारवाही गर्न बाध्य हुनेछ । यस्ता हर्कत रोक्न नागरिकले पनि प्रहरीलाई सूचना दिई सहयोग गर्न अनुरोध गर्दछु ।