मःम पसलमा ग्याँस पड्किएर आगलागी हुँदा ६ जना घाइते

काठमाडौं । भक्तपुरको एउटा मःम पसलमा ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ स्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा ग्याँस पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका हुन् । आइतबार साँझ भएको उक्त घटनामा मःम पसलका सञ्चालक पनि घाइते भएका छन् ।

ग्याँस पड्किँदा पसल सञ्चालक दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ६ घर भई सुर्यविनायक नगरपालिका वडा नम्बर ४ बस्ने ३१ वर्षीय टीकाराम बस्नेतसहित ३९ वर्षीय गीता कार्की तथा काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की घाइते भएका छन् ।

उनीहरु पसल सञ्चालक बस्नेतको आफन्त भएको हुन् । उनीहरुलाई डा.इवामुरा अस्पतालमा सामान्य उपचार गरिएपछि कीर्तिपुरको बर्न सेन्टर अस्पतालमा रिफर गरिएको छ ।

त्यस्तै घटनामा अन्य ३ जना ग्राहक पनि घाइते भएका छन् । अन्य घाइतेमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेका १७ वर्षीय विकास पौडेल तथा सोही स्थानमा १६ वर्षीय हिमुन्स थापा र झापाको विश्वशान्ति गाउँपालिका वडा नम्बर २ घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका १९ वर्षीय आदित्य सुवेदी रहेका छन् ।

घाइतेलाई सुरुमा मध्यपुर अस्पतालमा लगिएको थियो । त्यसपश्चात् थप उपचारका लागि कीर्तिपुरको बर्न सेन्टर अस्पतालमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । घाइते सबैको शरीरका विभिन्न भाग जलेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...