तनहुँ । शुक्लागण्डकी नगरपालिकाले पुथ्वीराजमार्ग र दुलेगौंडा बजार क्षेत्रमा सरसफाई गरेको छ ।
सोमबारबाट १ हप्तासम्म सेखाटारदेखि कोत्रेसम्म राजमार्गको दायाबायाँ सरसफाई गर्ने योजना अनुरुप नगरपालिकाले बुधबार दुलेगौंडा बजारमा सरसफाइ गरेको हो । सरसफाइ अभियानमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले सक्रियता देखाएका छन् । सुवेदी आफै फिल्डमा खटिएर नगरको सरसफाइलाई तीव्रता दिएका हुन् ।
बजारको दायाँबायाँ रहेको फूलको क्यारीमा मानिसले जथाभावी फोहोर फालिदिने हुँदा बजार नै कुरुप बन्ने अवस्था आएकाले बजारको सौदर्य बढाउन १ हप्तासम्म सरसफाइ कार्यक्रम राखिएको हो । बजार क्षेत्रको दायाँबायाँ रहेको फूलको क्यारीको संरक्षण गर्न पनि नगरपालिकाले सरसफाई थालेको हो । १ हप्ते अभियानमा सरसफाई कर्मचारी ४, नगर प्रहरी ५ जना र प्रमुख प्रशासकीय अधिकृत गरी १० जनाको टोलीले ३ दिनदेखि राजमार्ग र बजार क्षेत्र सफाई गर्दैै आइरहेको छ ।
आफैले बजार सरसफाइ गर्दा अरुलाई पनि प्रोत्साहन गर्न सकिन्छ भन्ने उद्देस्यका साथ बजार सरसफाई अभियान थालिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताएका छन् । उनका अनुसार आफूले नै सरसफाई गर्दा अरुलाई सरसफाई गर्ने उत्साह जाग्छ कि भन्ने उद्देश्यले सरसफाई गरिएको हो । ‘सरसफाईमा बजार क्षेत्रका स्थानीय तथा टोलविकास संस्थाका प्रतिनिधि समावेश भई सहयोग गरेमा बजार सफा राख्न सहयोग मिल्ने विश्वास छ, तर सोचे अनुरुप सहयोग नपाउँदा भने सरसफाईमा समस्या देखिएको हो ।’ उनले भने ।
प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म नगर क्षेत्र सरसफाई गरिंदै आएको छ । जथाभावी फोहोरमैला फालिदिँदा बजारको सौदर्य नै बिग्रदै जाने देखेर सरसफाई अभियान थालिएको उनले बताए ।
बजार क्षेत्रमा जथाभावी सामग्री राखिएको र पार्किङको समस्या हुँदा बजार अस्तव्यस्त हुन पुगेको हो । सरसफाईका क्रममा राजमार्गको दायाँबायाँ डोजर लगाएर सम्याउने काम भएको छ भने खाल्डाखुल्डी पुरिएको छ । पछिल्लो समय बजार क्षेत्रमा सवारीसाधन पार्किङ गरी राख्ने तथा जथाभावी रुपमा सामग्री राखिदा दुर्घटना बढ्ने जोखिम देखिदै आएकाले नगरपालिकाले त्यसको व्यवस्थापनको लागि सक्रियता देखाएको हो । सरसफाई अभियान अझै ४ दिन चल्ने भएकाले विभिन्न टोलविकास संस्थाका प्रतिनिधि, स्थानीय तथा व्यवसायीले आ–आफ्नो क्षेत्रबाट सहयोग गरेमा नगर सरसफाईमा सहयोग मिल्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताएका छन् ।