विपद् व्यवस्थापनका लागि ‘विपद् पोर्टल’ सञ्चालन

स्याङ्जा । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विपद् व्यवस्थापनमा जोड दिँदै ‘विपद् पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

विपद्सम्बन्धी सूचना तथा तथ्यांक संकलन गर्ने, प्रविष्टि गर्ने र प्रतिवेदनमा संलग्न जनशक्तिलाई पोर्टल प्रयोग गर्न सहजीकरण गर्ने, विपद् व्यवस्थापनसम्बन्धी तथ्यांकलाई एकरूपता प्रदान गर्ने र पोर्टलको उपयोगिता बढाउन सहयोग पु¥याउने उद्देश्यले ‘विपद् पोर्टल’ निर्माण गरी सञ्चालनमा ल्याइएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताएका छन् ।

युथ इनोभेसन ल्याब प्रालि काठमाडौंको प्राविधिक सहयोगमा निर्माण गरिएको पोर्टलको प्रयोगले जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् । सम्भावित जोखिमयुक्त स्थानमा रहेका वालिङका नागरिकको विपद्कै कारण जनधनको क्षति हुन नपाओस् भन्नका लागि एकै ठाउँबाट विपद् पूर्वको अवस्थाका बारेमा जानकारी दिइने उनले बताए ।

‘यस पोर्टललाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सेन्सर जडान गरी ‘अर्ली वार्निङ सिस्टम’ मार्फत् नागरिकलाई थप सुसूचित गराई जनधनको क्षति हुनबाट जोगाउने तयारी छ ।’ उनले भने ।

‘विपद् पोर्टल’ एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली हो । यो पोर्टल नेपाल सरकारको गृह मन्त्रालयले आरम्भ गरेको र राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वामित्वमा रहेको युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले बताए । ‘विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा पूर्वतयारी तथा जोखिम न्यूनीकरण कार्य गर्नलाई सूचना तथा तथ्यांक संकलन गर्ने र संकलित तथ्यांकको प्रयोगका लागि ‘विपद पोर्टल’ले विशेष महत्व दिएको छ ।’ ल्याबका निर्देशक खतिवडाले भने, ‘विपद्का सूचना तथा तथ्यांक एकै ठाउँबाट सबैले जानकारी पाउन सक्ने, हरेक घटनाको व्यवस्थापन र राहत वितरण कार्यसमेत नदोहोरिने गरी प्रभावकारी तरिकाले कार्य गर्नका लागि पोर्टल सञ्चालन गरिएको हो ।’

‘विपद् पोर्टल’ मा विपद्सम्बन्धी विभिन्न विधाका सूचना तथा तथ्यांक एकीकृत गरी व्यवस्थापन गरिन्छ । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन कार्यका लागि सूचना तथा तथ्यांकको आवश्यकतानुसार प्रयोग गर्न सकिने छ । स्थानीय तहमा रहेका स्रोत र साधन, घटनाको विवरण, क्षतिको विवरण आदिको जानकारी दिन र लिन सकिने गरी सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थापन गरिएको ल्याबका निर्देशक खतिवडाले बताएका छन् । रासस

कमेन्टहरु
Loading...