सहाराबिहीनलाई सहारा दिन भोटेओडारमा ‘हाम्रो घर’ सञ्चालन गरिने

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–८, भोटेओडार बगैंचामा हाम्रो घर नामक मानवसेवा आश्रम सञ्चालन गरिने भएको छ । सामाजिक क्षेत्रमा अग्रपङ्तिमा रहेका युवाहरूले उक्त आश्रम सञ्चालन गर्ने तयारी गरेका हुन् ।

अनाथ, असहाय, दुःखी र सहाराबिहीन वृद्धवृद्धालाई आश्रय दिने, आश्रितलाई पारिवारिक पुनर्मिलन गराउने तथा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित असहाय नागरिकलाई उनीहरूको हक अधिकार र सेवासुविधा दिलाउन सम्बन्धित निकायमा पैरवी गर्ने उद्देश्यसहित ‘हाम्रो घर’ आश्रम सञ्चालनमा ल्याइएको हाम्रो घर संस्थाकी अध्यक्ष खुशीमाया गुरुङले बताइन् ।

संस्थालाई सबैको साझा थलोको रूपमा बिकास गरी सडक मानव मुक्त समाज निर्माण गर्ने र समाजमा कोही पनि बेसहारा बन्न नपरोस् भन्ने उद्देश्यसहित अघि बढेको संस्थाले जनाएको छ । संस्था सञ्चालनका लागि उक्त संस्थाका संरक्षक गुमानसिंह कार्कीले सुन्दरबजार वडा नम्बर ८, भोटेओडारमा १ रोपनी जग्गासमेत प्रदान गरेका छन् । संस्थाले समाजमा रहेका असहाय, अशक्त व्यक्तिलाई सकेसम्म सम्बन्धित व्यक्तिकै घरमा रहन बस्न वातावरण सृजना गर्ने र अन्तिम विकल्पको रूपमा आश्रममा ल्याउने जनाएको छ ।

संस्थालाई नाफारहित परोपकारी सामाजिक संस्थाको रूपमा विकास गर्दै सामाजिक सेवामा अघि बढ्ने संस्थाका संरक्षक कार्कीले बताए । हाल मुख्य कार्यालयको रूपमा लमजुङको भोटेओडारमा स्थापना गरी निकट भविष्यमा जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा शाखा विस्तार गर्ने तयारी गरीएको संरक्षक कार्कीको भनाई छ ।

कमेन्टहरु
Loading...