लमजुङमा नागरिक आरोग्यता सेवा केन्द्र स्थापना

लमजुङ । डुमे्र–बेसीसहर सडक नजिकै लमजुङ बेसीसहर नगरपालिका–२ भकुण्डेमा आरोग्यता सेवा केन्द्र स्थापना गरिएको छ । संघीय सरकारको आर्थिक सहयोग तथा जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्रको समन्वयमा आज उक्त केन्द्र स्थापना गरिएको हो ।

केन्द्र अन्तर्गत रहने गरी स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रको आज बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उद्घाटन गरेका हुन् । नगर प्रमुख अर्यालले रोग लाग्न नदिने उपाय अपनाउँदै सकेसम्म शरीरलाई स्वस्थ राख्नुपर्नेमा जोड दिए । प्रमुख अर्यालले आयुर्वेद विधिबाट गरिने उपचार सबैभन्दा प्रभावकारी विधि भएको र योसँगै गरिने योग र अभ्यासले शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने भएकाले यसको फाइदा स्थानीयवासीलाई लिन आग्रह गरे । त्यस्तै प्रमुख जिल्ला अधिकारी शर्माले नागरिक स्वस्थ भएमा मात्र देशले समृद्धि हासिल गर्न सक्ने धारणा राखेका छन् ।

वरिष्ठ वैद्य प्रेमप्रसाद पौडेलका अनुसार नागरिक आरोग्य सेवा केन्द्र स्थापनासँगै निःशुल्क टिकट, ओपिडी, २३ प्रकारका निःशुल्क औषधि, नगरपालिकालाई रसायन औषधि, पञ्चकर्मा अन्तर्गत स्वेदन र स्नेहन तथा स्वास्थ्य शिक्षा जस्ता कार्यक्रम सञ्चालन गरिने भएको छ ।

जिल्लाको सिफारिसमा संघीय सरकारले लमजुङको ३ स्थानमा नागरिक आरोग्य सेवा केन्द स्थापना गर्नेमध्ये पहिलो पटक यस केन्द्र स्थापना गर्दै सञ्चालनमा ल्याइएको बताइएको छ । छिट्टै क्होलोसोथार गाउँपालिका–३ घलेगाउँ र दूधपोखरी गाउँपालिका–५ कोल्कीमा पनि सेवा केन्द्र स्थापना गर्ने तयारी भइरहेको वरिष्ठ वैद्य पौडेलको भनाइ छ ।

संघीय सरकारको अनुदानको करीब २१ लाख बजेटबाट जिल्लामा चालू आवमा यससहित ३ वटा केन्द्र स्थापनका हुने भएको छ । संघीय सरकारले जिल्लाका प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने लक्ष्य रहेको वरिष्ठ वैद्य पौडेलले बताएका छन् ।

मस्र्याङ्दीलाई ओखरका बिरुवा वितरण

मस्र्याङ्दी गाउँपालिकालाई थिल सेल जातको (दाँते) ओखर पकेट क्षेत्रका रुपमा विकास गर्नका लागि साढे ५ हजार वटा बिरुवा वितरण गरिएको छ । बेसीसहर नगरपालिका–७ मा रहेको डिभिजन वन कार्यालय लमजुङले जिल्लामै पहिलो पटक यस गाउँपालिका ओखर पकेट क्षेत्रका रुपमा अघि बढाउने उद्देश्यले आज सो बिरुवा वितरण गरेको हो । उक्त बिरुवा वितरणसँगै गाउँपालिकाको– ९ भलामचौरमा कार्यालय प्रमुख पूणेश्वर सुवेदी, मस्र्याङदी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकलगायतले ओखर बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको सुरुआत गरेका छन् । कार्यालय प्रमुख सुवेदीले गाउँपालिकाको उच्च मागलाई लक्षित गर्दै बिरुवा वितरण गरेको बताए ।

व्यावसायिक रुपमा ओखर खेती गर्न चाहनेलाई प्राथमिकतामा राखेर गाउँपालिकालाई वितरण गर्न उनले आग्रह गरेका छन् । जिल्लामा ओखरखेतीका लागि डिभिजन वन कार्यालयले पहिलो पटक यस खेतीको सुरुआत गर्न लागेको उनको भनाई छ ।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष विकले गाउँपालिकाले व्यावसायिक रुपमा खेती गर्न सके आयआर्जनको बाटो हुने भएकाले किसानलाई व्यावसायीकतातर्फ लाग्नका लागि यसले ठूलो टेवा पुग्ने बताए । व्यवसायी बन्न चाहने किसान, सामुदायिक वन, सामुदायिक विद्यालय, स्वास्थ्य चौकी, संघ संस्थालाई पनि वितरण गरिने उनको भनाई छ । बैतडी जिल्लाबाट ल्याएको नर्सरीबाट बिरुवा खरिद गरी निःशुल्क वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । ११ हजार बिरुवा जिल्लामा ल्याएकोमा ५ हजार ५५ बाँकी रहेको र ती बिरुवा क्व्होलोसोथार गाउँपालिकालाई हस्तान्तरण गरिने उक्त कार्यालय प्रमुख सुवेदीको भनाई छ ।

४ लाख ७५ हजारमा बिरुवा खरिद गरेर ल्याएको कार्यालय प्रमुख सुवेदीले बताएका छन् । उनले भने, ‘यसका लागि ५ लाख बजेट थियो ।’ ओखर जिल्लामा समुद्री सतहदेखि १५ सय मिटरदेखि २५ सय मिटर उचाइसम्म खेती गर्न उपयुक्त हुने उक्त कार्यालयले जनाएको छ ।

त्यस्तै, राम्रो स्याहार सुसार गरेमा बिरुवा लगाइएको ४/५ वर्षबाट फल दिन सुरु गर्ने बताइएको छ । ओखर बहुउपयोगी हुन्छ । तिहारमा समेत यसको प्रयोग गरिन्छ । बिरुवाले फल दिने र काठबाट ठेकीलगायतका सामग्री तयार पारिन्छ । साथै यसको पहेंलो बोक्राबाट पहेंलो रङ बनाउन मिल्ने कार्यालय प्रमुख सुवेदीले बताएका छन् । कार्यालयले जिल्लाको तल्लो भेगका लागिसमेत आवश्यक बिरुवा वितरण गर्ने तयारी गरेको छ । सो क्षेत्रमा बिरुवा लगाउन १५ लाख बजेट रहेको कार्यालयले जनाएको छ । रासस

कमेन्टहरु
Loading...