नारी दिवसकै दिन कर्णालीमा १ महिलाले ४ सन्तान सहित हाम फालिन्, २ को शव भेटियो, अन्य अझै बेपत्ता

काठमाडौं । नेपालसहित विश्वभरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहदाँ नेपालमा भने एक जना महिलाले आफ्नो ४ जना सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छिन् । हिजो नारी दिवसका दिनमा दैलेखको आठबिस नगरपालिका वडा नम्बर ३ निमाइलकी ३५ वर्षीय सुकी बडुवालले ४ जना सन्तानसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुका अनुसार हाम फालेका २ जना छोरीको शव भेटिएको छ । १४ वर्षीय कल्पना बडुवाल तथा १२ वर्षीय सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ मा भेटिएको साहुले जानकारी दिएका छन् । उनीहरु दुवै जनाको शव कर्णाली नदीमा माछा मार्नका लागि प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको थियो । नदीमा हाम फालेकी सुकीसहित १० वर्षका ललित बडुवाल तथा ५ वर्षकी रजनी बडुवालको शव अझै नभेटिएको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

सुकी सोमबार १ जना छोरा तथा ३ जना छोरी सहित घरबाट माइत जाने भन्दै निस्किएकी थिइन् । घरबाट माइतका लागि निस्किए पनि त्यहाँ नभेटिएपछि आफन्त तथा प्रहरीले खोजतलास सुरु गरेको थियो ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ । तर स्थानीयले भने सुकीले आफ्नो सन्तानसहित कर्णाली नदीमा हाम फालेको बताएका छन् । अनुसन्धानका लागि सुकीका श्रीमान् मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरेक दिन मादक पदार्थ सेवन गरेर सुकीसंग झगडा गर्ने सुचना प्रहरीले पाएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

कमेन्टहरु
Loading...