त्यो दिन म रिर्पोटिङको लागि पृथ्वीचोक पुगेकी थिएँ । कोरोना कहरको कारण देश लकडाउनमा थियो । अत्यावश्क कामबाहेकका काममा घरदेखि बाहिर निस्किन रोक लगाइएको थियो । कतिबेला के हुने हो ? थाहै थिएन । मजदुरि गरेर पेट पाल्नेहरु बिचल्लिमा परेको खबरले मिडियामा राम्रो स्पेश पाई रहेका थिए । पूर्वी नेपालका मजदुरलाई काम नचलेपछि घर लगिदै थियो । त्यसैको रिर्पोटिङका लागि म त्यहाँ थिएँ ।
म सहित अन्य रिपोर्टरहरु पनि आ–आफ्नो मिडियाको प्रतिधित्व गर्दै त्यहाँ पुगेका थिए । विशेष गरि पुरुष रिपोर्टर । सबैले आफ्नै शैलीमा समाचार संकलन गर्दै थियौं । सबैले आफूहरु अलपत्र परेको दुखेसो पोख्दै थिए । हामी सक्दो उनीहरुलाई रेकर्ड गर्ने कोसिस गर्दै थियौं ।
माफ गर्नुहोला, यो आलेख लेख्दै गर्दा मेरो दिमागले यही प्रसंग सम्झिन पुग्यो । उनले त हाम्रै समाजको बोलि बोलेका न हुन् । महिला रिपोर्टर भएकै कारण म सँग एकजना पुरुष गफिन मानेन्न् । उनको व्यवहार नै म प्रति केही होच्याउन खोजेको जस्तो छ ।
पुरुष रिपोर्टरसँग भने अघि लागेर बोले । भनौं न, मेरो कलमले उनको आवाज बोल्न सक्दैन भन्ठाने । घटना सामान्य हो । तर, पछिसम्म पनि नमज्जा लागि रह्यो । महिला भएकै कारण यस्ता विभेद सहि रहेकै हो । यस्ता कैयौं किस्सा छन् । सबै किस्सा म यहाँ समेट्न सक्दिनँ । नारी दिवसकै दिन यो लेखि रहनु जरुरी त थिएन ।
………..
नारी दिवस के हो ? नारी दिवस किन मनाएको ? आज किन बिदा हुनुपर्ने ? पुरुष दिवस किन ओझेलमा पर्छ ? महिला पुरुष बराबर भन्ने अनि कोटा किन चाहियो र ?
४-५ कक्षामा अध्ययन गर्दा आफैले आफैलाई सोधेकी थिएँ । यही प्रश्न बालसखा र अभिभावकसँग पनि गर्थे । समय बदलियो । उमेरसँगै प्रश्नका उत्तरहरु पाउदै छु ।
जान्ने/सिक्ने क्रम त चलि नै रहन्छ नै । पितृसत्तामक समाजमा हुर्केको म मा अझै केही नकरात्मक छाप बाँकी नै छ । भाले शासनको समाजले दिएको पितृसत्तामक उत्तरलाई केलाउदै आउँदा, आफैसँगै तर्क/वितर्क हुँदै आएका छन् । समय फेरियो । सोच फेरियो । नयाँ पुस्तामा पनि नारीवादको झिल्को कायमै छ ।
शताब्दीको लामो संघर्षपछि मनाउन थालिएको नारी दिवसले आज १११ औं जन्मदिन मनाउँदै छ । यो अन्तरालमा धेरै परिवर्तन भए । आशा राखौं यो भन्दा राम्रो समय पनि आउला ! समयले लामो नेटो काटि सक्दा पनि कहिकतै महिलाका विषय पून सुरुआती चरणमै अल्झेको भान हुन्छ ।
अझैपनि समाज महिलाको कुमारित्व, छातीको साईज, स्र्कटको लम्बाइ, थाइको टाइट पाइन्ट र ढाँडमा अल्झि बसेको छ । तर पनि पुस्ता र परिवेशसँगै नारीवादको अर्थ फरक हुँदै आयो । सुरुआती चरणको मुद्दा र अहिलेका मुद्दामा धेरथोर परिवर्तन आए । कति सफल भए कति हुँदै छन् । अधिकारको युद्ध चलि नै रहेको छ ।
संघर्ष र लडाईँ एकै हो । सबैले बोल्ने आवाज अधिकारको हो । तर पनि शहरको नारीवाद र दुरको नारीवाद अनि अधिकारको अर्थ फरक छ । समाजमा वर्ग अनुसारको नारीवादको हैकम छ । बदलिएको परिवेशसँगै विषय र मुद्दा परिवर्तन हुँदै जानु स्वभाविक हो । तर अझैपनि दुरका महिलालाई उनको अधिकार दिलाउनु जिम्मेवारी कसको ?
‘म’ र ‘तिमी’ले जे स्वतन्त्र पाएका छौं, त्यो स्वतन्त्रता कालान्तरमा कसैले हाम्रो अधिकारको लागि लडेर पाएका हौं । अझैपनि अधिकारको भूमरीमा अल्झेको यो आन्दोलनमा हाम्रो र तिम्रो जिम्मेवारी के ? परिवर्तनको पाइला चाल्दै गर्दा आफनो अधिकारका बारे चेत समेत नभएका महिलाको जिम्मेवारी के हाम्रो होइन ? हो भने किन उनीहरुको अधिकारका लागि आवाज प्राय कम सुनिन्छन् । परिवेशसँगै बदलिएको अधिकार मागले किन हरेक वर्गका महिलालाई समावेश गरिन्न । ‘ह्यापी टु ब्लिड’ जस्ता प्लेकार्ड बोकेर सडकमा हिड्ने आँट पाएको हामीले देशको एउटा कुनामा अर्कि महिलाले छाउँपडी प्रथा जस्तो कुरितीमा ज्यान गुमाउनु पर्छ भनेर किन बिस्र्यौ ।
बजारमा एउटा ट्रेण्ड छ, ‘तिम्रो अधिकार, अधिकार’ तर अरुको अधिकार मजाक ?’ त्यो ‘तिमी’ सम्बोधनमा म पनि पर्छु र तिमी पनि । नेता पदमा पुगेपछि जनतालाई बिर्से जस्तो आफूले थोरै अधिकार र अवसर पायौं भन्दैमा अन्य महिला बिर्सिने ? केही समय अघिसम्म मलाई पनि महिला आरक्षण अबको परिवेशमा आवश्यक छैन जस्तो लाग्थ्यो । सामाजिक संरचनात्मक लाभ, परिवारको हुर्काइ र आफूले पाएका अवसरले पक्कैपनि क्षमता अनुसार लड्न सक्छु भन्ने विश्वास सबैमा हुन्छ । तर त्यो क्षमता म वा तिमीमा छ भन्दैमा सबै महिलामा नहुन सक्छ ।
कहिलेकाहीे महिला अधिकारको गफगाफ गदैगर्दा अक्सर चर्चामा आउने विषय हो महिला आरक्षण र प्रायले भन्ने वाक्य हो ‘नारी पुरुष बराबर भए हामीलाई कोटा किन चाहियो ?’ अक्सर पुरुषबाट पनि यस्ता कुरा सुनिएको हुन्छ । तर आफू प्रतिनिधित्व गर्ने सामथ्र्य छ भन्दैमा सम्पूर्णमा महिलामा अझैपनि विभेद र परिभेषले त्यो क्षमता नहुन सक्छ । त्यसैले हरेक महिलाले दोस्रो महिलाको प्रतिनिधित्व गर्दै उनीहरुको हक अधिकारका लागि बोल्न जरुरी छ । परिवर्तनको र अधिकारको लडाइमा केही जिम्मेवारी हाम्रो पनि त छ ।
एकताका एकजना महिला सांसद सदनमा बोलेको भिडियो भाइरल भएको थियो । त्यसबारे अनेकन टिप्पण्ी गरिए । उहाँ दूर्गम क्षेत्रबाट प्रतिनिधित्व गरेर त्यस सदनमा पुग्नुभएको थियो । एउटा क्षेत्रको प्रतिनिधित्व लिएर बोलेको भन्दा त्यहाँ बोली र भाषा कत्तिको स्पष्ट छ त्यसको लेखाजोखा गरियो । जति नै लेखाजोखा गरेपनि त्यो एउटा राम्रो र ठुलै फड्को हो । त्यस्तै केही समय अघिमात्र उपमेयर र मेयरको उद्घाटन समारोहमा भएको झगडाको भिडियो भाइरल भएको थियो । त्यसलाई समेत अनेक टिप्पणी दिदै नकारात्मक रुपमा हेरियो ।
त्यो महिलाले कार्यक्षेत्रमा भोग्नुपरेको आक्रोश थियो जसलाई महिलाले वषौंदेखि दबाएर राखेका थिए । त्यसका विरुद्ध उपमेयरले आक्रोश पोखेर अन्य महिलालाई हौसला दिएकी छन् । वषौंदेखिको दमनलाई खबरदारी दिएकी हुन् । उसो त परिवेश र वर्ग अनुसार फरक रहेका अधिकारका कुरामा दैनिकी सबै महिलाले अनेक समस्या झेल्नुपर्ने हुन्छ । र ति समस्या अझैपनि भाले शासक र पितृसतात्मक सोच रहेकाले दिइरहेका छन् ।
नारीवाद र महिला अधिकारको नारा लगाउँदै गर्दा अझैपनि हामी किन अन्याय विरुद्धको आवाज उठाउन हचकिन्छौं ? अझैपनि समाजमा आफूलाई परेको अन्यायका विषयमा खुलेर कुरा गर्ने वातावरण किन हुन सकेको छैन ? अझैपनि महिलाको चरित्रलाई सबैभन्दा सजिलो र छिटो प्रहार गर्ने अस्त्र किन बनाइन्छ ? महिलाको कुमारित्वलाई पवित्रतासँग किन जोडिन्छ ?
बिहान उठेपछि राती बिस्तरा तताउँदासम्म महिलाले भोग्नुपरेको पारिवारिक देखि स–साना विभेद् र उत्पिडनले किन स्थान पाउदैन ? फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालदेखि फिल्म, गीत जस्ता कलाक्षेत्रमा समेत महिलाको भद्दा मज्जाक गरेर उनलाई हासो र उपहासको पात्र किन बनाइन्छ ?
धर्मका नाममा धर्मभिरुहरुले महिला माथि गरेको शोषण र अस्तित्व हरणलाई अझैपनि महिला स्वयले किन स्वीकार गर्छन् । किन त्यसलाई संरक्षण अहिलेकै पुस्ताका पुरुषले गर्दै आएका छन् । परिर्वतन एकैचोटी सम्भव छैन । परिवर्तन म, तपाई, परिवार र समाजबाट हुने हो । परिवर्तनको बाटो देखाउदै त्यसको बिउ अर्को पुस्तामा हस्तान्तरण गर्दै जाने हो । तर अहिलेको पुस्तामा समेत महिला अधिकार र नारी स्वतन्त्रताको गलत अर्थ किन ? महिला अधिकारको आन्दोलनले एउटा क्रान्तिको वेग समात्न किन सकेन ?
नारी अधिकार केवल नारीको मात्र विषय होइन । यो परिवर्तन र विकासको लडाईँ हो । यसमा पुरुषको साथपनि उत्तिकै आवश्यक छ । तर अहिलेकै पुस्ताले नारीवादबारे किन गलत अर्थ राख्दै छन् । नारीवाद शब्द आफैंमा क्रन्तिको शब्द लाग्छ मलाई । तर किन यहीँ शब्दलाई गलत अर्थ दिँदै आइएको छ । अर्को कुरा महिलाले आफ्नो अधिकार माग्दै गर्दा आफूपनि स्वय सक्षम हुन जरुरी छ ।
मैले बुझेको र महिलाले खोजेको स्वतन्त्रताका लागि मूख्यरुपमा महिला आर्थिकरुपमा सबल हुन जरुरी छ । त्यसैले मलाई लाग्छ यहाँ हरेक महिला अधिकारको आन्दोलनमा जानेर वा नजानेर होमिएकी छिन् । चाहे त्यो सडकमा दैनिकी चलाएर बसेकी अशिक्षित र निम्न वर्गकी महिला हुन्, चाहे त्यो शिक्षित समाजमा हुर्केकी नारीले सपना पूरा गर्न चालेको कदम होस् ।
कतै शान्त त कतै शब्दमा आक्रोश पोखिएको छ । अधिकारको लडाईँ चलेकै छ । दैनिकी बाटोमा हिड्दा होस् वा परिवार समाज, कार्यक्षेत्र वा अन्य स्थानमा सहनुपरेको विभेदलाई चिर्दै हिडेका महिलाप्रति नमन । मलाई समाजलाई चुनौती दिने मनमौजीहरु खुब मनपर्छ । समाजको कुरितीलाई चुनौती दिदै सदनमा प्रतिनिधत्व गर्नेदेखि, उद्घाटन समारोहमा मेयरकै अगाडि शिलालेख फुटाउन खोज्ने उपमेयरलाई सम्मान …