तनहुँको ब्यास क्षेत्रका ३ मुख्य सडकको स्तरोन्नतिका लागि ७५ करोड सहयोग

तनहुँ । तनहुँको ब्यास नगरपालिका क्षेत्रका ३ वटा मुख्य सडकको स्तरोन्नतिका लागि नेपाल सहरी तथा पूर्वाधार आयोजनाको समन्वयमा ७५ करोड ३ लाख सहयोग प्राप्त हुने भएको छ । नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार सडक निर्माणका लागि उक्त रकम सहयोग प्राप्त हुने भएको ब्यास नगरपालिका कार्यालयले जनाएको छ । सम्झौता पत्रमा आयोजनाका तर्फबाट आयोजना प्रमुख नवराज प्याकुरेल र ब्यास नगरपालिकाको तर्फबाट नगरप्रमुख बैकुण्ठ न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

सो सडकअन्तर्गत घाँसीकुवा, फराकचौर, माझँफाट, कलेस्ती हुँदै ब्यास मार्ग जोडिने पराशर मार्ग, पतेनीटार, चिन्तुटार, मादिवेशी, शेखटार हुँदै शिशाघाट जोडिने मार्ग र केशवटार, कुलुङ, छाब्दी, कर्लुङ हुँदै छिर्कने निस्कने मार्गको स्तरीकरण (कालोपत्रे) गर्ने कार्यक्रम रहेको नगरप्रमुख न्यौपानेले जानकारी दिएका छन् । योजनाअन्तर्गत लैंगिक समानतालगायत पूर्वाधार निर्माण र शासकीय सुधारका विषयमा पनि कार्यक्रम गरिनेछ । हाल बहाल रहेका जनप्रतिनिधि निर्वाचित हुने बित्तिकै नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार काम अगाडि बढ्नुपर्नेमा कोभिडलगायत विविध कारणले नगरपालिकासँगको सम्झौता ढिलो हुन पुगेको हो ।

देशभरका ३३ नगरपालिकासँग आयोजनाका तर्फबाट सम्झौता गरिएको छ । आयोजनाका तर्फबाट करिब १४ अर्ब बजेटमा यो कार्यक्रम सञ्चालन हुँदैछ । गण्डकी प्रदेशका पोखरा महानगरपालिकासहित ब्यास, शुक्ला, बाग्लुङ र स्याङ्जाको पुतलीबजार नगरपालिकासँग सम्झौता गरिएको हो । योजना सम्पन्न गर्ने अवधि ५ वर्षको हुनेछ । आयोजनाले ब्यास नगरपालिकाको ग्रामीण र सहरी क्षेत्रलाई पर्यटनका माध्यमबाट विस्तार गर्ने कार्यलाई सहयोग पुर्याउने छ । मादी उपत्यकाको वारिपारि क्षेत्र तथा छाब्दी, कुलुङ पर्यटन क्षेत्रको विकास हुने पनि ब्यास नगरपालिकाले लक्ष्य लिएको छ । सहरी क्षेत्रमा जनघनत्व बढ्दै गइरहेको र बसाइसराइ तीव्र भइरहेको अवस्थामा यो योजना सम्पन्न भएपछि गाउँ छाडेर शहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको छ ।

साथै आयोजनाको कार्यान्वयनको चरणमा बृहत् सहर विकास अभियानअन्तर्गत स्याङ्जा, पोखरा, शुक्लागण्डकी र ब्यास क्षेत्रलाई सहरी क्षेत्रमा विकसित गर्न सम्बन्धित मन्त्रालय र विभागले प्राथमिकतामा राखेको बताइएको छ ।

निःशुल्क स्वास्थ्य परीक्षण

ब्यास नगरपालिका–१ वडा कार्यालयको आयोजना तथा लोकप्रिय मेडिकल सेन्टरको सहयोगमा शनिबार ११६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा उषान्त आचार्यको नेतृत्वमा ५ जनाको स्वास्थ्य टोलीको सहयोगमा वडावासीका लागि नाक, कान र घाँटीसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । परीक्षण गरिएका ७३ महिला र ४३ पुरुषमध्ये २७ जना शल्यक्रिया गर्नुपर्ने प्रकृतिको बिरामी रहेको बताइएको छ । स्वास्थ्य परीक्षण गराएका ३८ ज्येष्ठ नागरिकमध्ये २० पुरुष र १८ महिला रहेको आधारभूत स्वास्थ्य केन्द्रका अनमी सञ्चिता मिश्रले जानकारी दिएकी छिन् । रासस

कमेन्टहरु
Loading...