तनहुँ । तनहुँको भीमाद नगरपालिका–५ रिषिङपाटन र रिषिङ गाउँपालिका–८ पल्ट्याङ जोड्ने फेदीखोलामा पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले फेदीखोलामा पक्की पुल निर्माण सुरु गरेपछि यहाँका स्थानीयवासी खुसी भएका छन् । हिउँदको समयमा सुकेपनि वर्षायाममा निकै ठूलो हुने छ । ‘हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ ।’ तनहुँको भीमाद नगरपालिका–५ रिषिङपाटनमा तुलबहादुर थापाले भने, ‘फेदीखोलामा पक्की पुल बन्ने भएपछि यहाँका स्थानीयवासीलाई अब सहज हुने भयो ।’ यही खोलाले बगाएर विसं २०७५ जेठमा कक्षा सातमा अध्ययनरत १ बालकको ज्यान गएको थियो ।
रिषिङ गाउँपालिकाका विभिन्न वडाका सर्वसाधारणको प्रमुख व्यापारिक केन्द्र भीमाद बजार हो । उक्त गाउँपालिकाका सर्वसाधारण यही खोला तरेर भीमाद बजार आउने गर्छन् । रिषिङको पल्ट्याङ, राम्जाकोट, कोटदरबार लगायतका ठाउँका सर्वसाधारण सरसमान किन्न यही खोला तरेर आउनुपर्ने बाध्यता छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको ३ करोड ५८ लाख ३१ हजार ९ सय ८० को लागतमा फेदीखोलामा पुल निर्माण सुरु भएको हो । पुल निर्माणका लागि विसं २०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाले जानकारी दिएका छन् ।
उनका अनुसार २५ मिटर लामो पुलको चौडाइ ८.४ मिटर रहनेछ । छ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४/१.४ को पेटी निर्माण हुनेछ । सो पुल २०७८ पुस २५ गतेसम्म सम्पन्न गर्ने म्याद छ । पुल निर्माणका लागि चालू आर्थिक वर्षमा ७५ लाख विनियोजन भएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि कुमार आचार्यले राज्यले तोकेको मापदण्ड र प्राविधिकले दिएको निर्देशनअनुसार समयभित्रै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘पुल निर्माण गर्ने समय आगामी वर्षको पुस अन्तिम सातासम्म भए पनि प्राविधिक कठिनाई नआए असार मसान्तभित्रै पुल निर्माण सम्पन्न गरिसक्छौ ।’ उनले भने । यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा नै शालिग्राम करिडोर अन्तर्गत घिरिङ गाउँपालिका–४ नयाँ टारस्थित तिरन्दीखोलामा पनि पक्की पुल निर्माण सुरु भएको छ ।
प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम करिडोरमा ३ करोड १४ लाख १ हजार २ सय ८२ को लागतमा पुल निर्माण सुरु भएको हो । पुल निर्माणका लागि २०७७ वैशाख २२ गते वाइएसएस निर्माण सेवा प्रालि सुर्खेतसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । २५ मिटर लामो पुल २०७८ भदौ २९ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद छ ।
कोरोनाका कारणले पुल निर्माणमा ढिलाइ भए पनि अब तीव्र गतिमा काम सुरु गरिने कार्यालयका प्रमुख ढुंगानाले जानकारी दिएका छन् । कुल ८.४ मिटर चौडाई रहने सो पुल निर्माणका लागि चालू आर्थिक वर्ष ५५ लाख बजेट विनियोजन भएको छ । रासस