ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ । पछिल्लो १७ वर्षमा आगलागीबाट ३ सय ९३ परिवार विस्थापित हुन पुगेको र १ सय ५२ घर जलेर नष्ट भएको तथ्यांक छ ।
विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १ सय २९ परिवार विस्थापित भएका थिए ।
विसं २०६९ माघ २६ गते शेर्पाटोलमा आगलागीबाट ८ घर जलेर नष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्यांक छ । विसं २०७० कात्तिक १८ टुक्रेबजार क्षेत्रमा आगलागीबाट ५ घर नष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए ।
त्यसैगरी विसं २०७१ चैत ९ गते फुङलिङ–४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए ।
उक्त घटनामा १ सय ४५ परिवार विस्थापित भएका थिए । विसं २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागीबाट ७ घर नष्ट हुँदा २९ परिवार विस्थापित भएका थिए ।
त्यसै गरी मंगलबार ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागीबाट ४९ घर नष्ट भएका छन् भने ५५ परिवार विस्थापित हुनपुगेको ताप्लेजुङ जिल्लाको तथ्यांकमा रहेको छ । रासस