दलित समुदायका व्यक्तिले दिएको दही खाएकै आधारमा ज्येष्ठ नागरिक समाजबाट बहिस्कृत

काठमाडौं । खोटाङमा दलित समुदायका व्यक्तिले दिएको दही खाएकै आधारमा एक जना ज्येष्ठ नागरिक सामाजिक बहिस्कारमा परेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका टंकप्रसाद आचार्य आफन्त तथा छिमेकीको बहिस्कारमा परेका हुन् ।

मानवअधिकार आयोगका अनुसार आचार्यले २०७५ साल असारमा आयोजना भएको एउटा कार्यक्रममा सहभागी हुँदा दलित समुदायका व्यक्तिले दिएको दही खाएपछि लामो समयदेखि बहिस्कारमा परेका हुन् ।

उक्त समयमा जिल्ला समन्वजय समिति खोटाङले जातीय भेदभावविरुद्ध सहभोज कार्यक्रमको आयोजना गरेको थियो । सोही क्रममा आचार्यले उक्त समुदायका व्यक्तिको हातबाट दही खाएका थिए ।

दही खाएको समयदेखि नै आचार्य आफन्त तथा छिमेकीमार्फत् नै सामाजिक बहिस्कारमा परेका छन् । मानवअधिकार आयोगको टोलीले आचार्यको घरमा नै पुगेर घटनाका विषयमा जानकारी लिएका थिए । आचार्यमाथि भइरहेको बहिस्कारको घटना सार्वजनिक भएपनि आयोगका सचिव वेद भट्टराईसहितको उच्चस्तरीय टोलीले घटनाका विषयमा अनुगमन गरेका हुन् ।

अनुगमनपश्चात् विज्ञप्ति जारी गरेर आयोगले आचार्यलाई बहिस्कार गर्नु निन्दनीय भएको बताएका छ । जातीय आधारमा हुने भेदभावविरुद्ध अभियान चलाउने र संलग्न हुने ज्येष्ठ नागरिकलाई समाजले सम्मान तथा गौरव गर्नुपर्नेमा बहिस्कार गर्नु निन्दनीय भएको बताएको हो ।

कमेन्टहरु
Loading...