भागरथी हत्या प्रकरणमा सार्वजनिक पद धारण गरेका १ जना पक्राउ

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीय किशोरी भागरथी भट्ट बलात्कार तथा हत्या प्रकरणमा संलग्न भएको आशंकामा १ जना पक्राउ परेका छन् ।

भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेको आशंकामा शनिबार राति कञ्चनपुरको महेन्द्रनगरबाट १ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएका हो । तर अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीले भने यो विषयमा कुनै पनि सुचना बाहिर ल्याएको छैन ।

पक्राउ परेका व्यक्ति भागरथीको बलात्कारपश्चात् हत्या भएको दिनमा घटनास्थलबाट करिब ३ किलोमिटर नजिकै रहेको बजार खोचलेकमा नै रहेको पाइएको तथा भागरथी घरतर्फ लागेपश्चात् उनी पनि त्यहाँबाट हिंडेको पाइएको प्रहरी स्रोतले बताएका छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति अझै पनि प्रहरी नियन्त्रणमा नै छन् । भारत भाग्न लागेको आशंकाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका संदिग्धको घर नजिकै भागरथीले प्रयोग गर्ने मोबाइलको ब्याट्री भेटिएको, अनुसन्धानका क्रममा उनी घटनास्थल नजिकै रहेको पाइएको तथा घटनामा संलग्न भएको पुष्टि हुने अन्य आधार समेत भेटिएको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति भएको बताइएको छ । यद्यपि पक्राउ परेका व्यक्ति भागरथीको बलात्कार तथा हत्या प्रकरणमा संलग्न थिए या थिएनन् भन्ने विषय पुष्टि गर्न भेजाइनल स्वाब तथा घटनास्थलमा भेटिएको वीर्यको डिएनए परीक्षण गर्नुपर्ने आवश्यकता हुन्छ ।

यता केन्द्रीय प्रहरीले भने भट्ट बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेकाको विषयमा जानकारी आइनसकेको भन्दै अनविज्ञता जनाएको छ । स्रोतका अनुसार घटनास्थलमा अनुसन्धानका लागि रहेका प्रहरी अधिकारीहरुले समेत यो विषयमा बोल्न मानिरहेका छैनन् । अनुसन्धान अझै जारी रहेकाले संदिग्ध व्यक्ति पक्राउ परेको या पक्राउ नपरेको भन्ने विषयमा केही बोल्न नमिल्ने उनीहरु बताउँछन् ।

कमेन्टहरु
Loading...