२ जना श्रीमती हुँदाहुँदै फेरी विवाह गरेका वडाध्यक्ष सहित पछिल्लो श्रीमतीलाई कैद सजाय

सल्यान । सल्यानमा बहुविवाहको आरोपमा पक्राउ परेका वडा अध्यक्षलाई जिल्ला अदालत सल्यानले १ वर्ष कैद तथा १० हजार जरिवानाको फैसला गरेको छ ।

जिल्लाको बन्गाड नगरपालिका वडा नम्बर ९ का ५२ वर्षीय अध्यक्ष इन्द्रबहादुर कुमाई बहुविवाहको आरोपमा पक्राउ परेका थिए । वडाअध्यक्ष कुमाई तथा उनकी पछिल्लो श्रीमती ग्वामी विष्टलाई जिल्ला अदालत सल्यानका न्यायधीश कुलप्रसाद पाण्डेको इजलासले कैद तथा जरिवानाको फैसला गरेको हो ।

वडा अध्यक्ष कुमाईका ग्वामी विष्टभन्दा अगाडि नै अन्य २ जना पत्नी तथा ४ जना छोराछोरी छन् ।

पछिल्लो श्रीमती ग्वामीलाई कुमाईले गत मंसिर ३ गते भगाएर आफैं पनि फरार भएका थिए । उजुरी परेपछि मंसिरको १९ गते नै लुकिछिपी बसिरहेको अवस्थामा दुवै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत सल्यानले कैद तथा जरिवानाको फैसला गरेपछि कुमाई तथा विष्ट दुवै जनालाई कारागार चलान गरिएको छ । वडा अध्यक्ष कुमाईले पहिले नै २ जना श्रीमती तथा ४ जना छोराछोरी भएको अवस्थामा समेत अर्को विवाह गरेको स्वीकार गरिसकेका थिए ।

कमेन्टहरु
Loading...