चिनी मिललाई उखु अभाव

कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि आवश्यक पर्छ । दुवै मिलले सिजनमा मुस्किलले ४० लाख क्विन्टल उखु मात्रै क्रसिङ गर्दै आएका छन ।

उखु अभाव भएपछि निर्धारित समय अगावै मिल बन्द गर्नुपर्ने अवस्था आएको महाकाली सुगर इन्डष्ट्रिजका प्रबन्धक सिडी पाण्डेयले बताए । ‘किसानलाई उखुको उत्पादन बढाउनका लागि जग्गा बढाउनुपर्ने हुन्छ ।’ उनले भने, ‘नयाँ प्रविधितर्फ आकर्षित गरी उन्नतजात लगाउन उत्प्रेरित गरिए उखुको उत्पादन बढाउन सकिन्छ ।’ विश्वका सबैभन्दा उन्नत उखुका जात ल्याएर किसानलाई लगाउन दिइएको उनको भनाई छ । ६ वटा उपकेन्द्रमा आबद्ध किसानलाई अनुदानमा कृषि उपकरणसमेत मिलका तर्फबाट उपलब्ध गराइएको इन्डष्ट्रिजका अर्का प्रबन्धक राजेश्वर शाहले बताएका छन् । कृषि उपकरणसँगै उखु खेती गर्ने आधुनिक तरिका किसानलाई सिकाइएको छ । परम्परागतरूपमा हुँदै आएको खेती छाडेर किसानले ट्रेन्च प्रविधिबाट उखु खेती गर्दै आएका छन् ।

‘१ बिघा जग्गामा २ सयदेखि ३ सय क्विन्टल उत्पादन हँुदै आएको जग्गामा हाल ५ सयदेखि ७ सय क्विन्टल उखु उत्पादन हँुदै आएको छ ।’ उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन राईले भने, ‘उखु लगाउने थोरै जग्गा हुँदा चिनी मिलको क्षमताअनुसार उखु उत्पादन हुन सकेको छैन । चाहेको बेला रासायनिक मल र कीटनाशक विषादी नपाउँदासमेत उत्पादन बढाउन कठिनाई छ ।’

उखु उत्पादन गर्दै आएका किसानलाई मिलमा उखु बेचेको २४ घण्टाभित्रै अनलाइन प्रणालीमार्फत भुक्तानी दिने व्यवस्था गरिएको उनको भनाई रहेको छ । ‘चिनी मिलले भुक्तानी दिएको छ महिनापछि मात्रै सरकारले अनुदानबापतको रकम उपलब्ध गराउँछ । सरकारी अनुदानको रकम छिट्टै उपलब्ध गराउने व्यवस्था गरिए किसानको खेतीप्रतिको लगाव बढाउन सकिन्छ ।’ उनले भने ।

मंसिरदेखि चैतको अन्तिम सातासम्म उखु मिल सञ्चालन हुने गरेका छन् । १ क्विन्टल उखुबाट १० किलोको हाराहारीमा चिनी उत्पादन हुने गरेको छ । चिनी मिलसँगै गाउँमा उखु पेल्ने कोल्हु (खाँडसारी उद्योग) समेत सञ्चालनमा छन् । कोल्हु सञ्चालकहरूले उखु पेलेर गुड बनाउने गरेका छन् । गुड बनाउन झण्डै ३ लाखदेखि ५ लाख क्विन्टल उखु खपत हुने गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कञ्चनपुरमा ५ हजार ६३ हेक्टर क्षेत्रफलमा २ लाख २२ हजार ३ सय ५७ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । सोमध्ये २ सय बिघा क्षेत्रफलमा रेडक्रसले मर्सिकोरको सहयोगमा एमरेड परियोजना अन्तरगत बगरमा उखु लगाइने गरिन्छ । रासस

कमेन्टहरु
Loading...