मनाङ । हिउँ पग्लिन नपाउँदै मनाङका जंगलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् ।
भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताएका छन् । मानव बस्तीभन्दा २ घण्टा टाढाको दूरीमा आगलागी भएको उनको भनाई छ । आगलागीबाट कुनै मानवीय तथा पशुचौपायमा क्षति नपुगेको तथा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नेपाली सेनाको संयुक्त टोलीले आगो निभाउने गरिरहेको छ ।
‘हामीले हाम्रोतर्फबाट प्रयास गरिरहेका छौं ।’ मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने । उनले अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गका वन जलिरहँदा खोज अनुसन्धान्न प्रक्रियामा ढिलाइ गरेको आरोप लगाए । मनाङमा भएका आगलागीमा अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वन परेको तथा यसको जिम्मेवारी एक्यापले लिनुपर्नेमा छिटो तथा तदारुकताका साथ नभएको स्थानीयवासीको आरोप छ ।
‘जंगल जलिरहेको छ, हाम्रा कर्मचारी र स्थानीयवासी परिचालन भएका छन्, अनुसन्धानको दायरा कसिलो बनाएका छौं, कसरी आगो लाग्यो भन्ने कुरा अझै पत्ता लगाउन सकेका छैनौं ।’ अन्नपूर्ण संरक्षण क्षेत्रका मनाङ प्रमुख लेखनाथ गौतलमे भने । उनले स्थानीयवासीले मुख नखोल्दा आगलागीको कारण तथा व्यक्ति पत्ता लगाउन र अनुसन्धान गर्न कठिन भएको बताएका छन् ।
यसभन्दा अघि पनि २ पटकसम्म मनाङको विभिन्न जंगलमा आगलागी भएको थियो । आगलागीको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन । कसले र किन पटक–पटक मनाङका जंगलमा आगो लगाएको हो भन्नेबारे अन्योल भएको छ । यसरी बाराम्बार यस्ता गतिविधि दोहोरिरहँदा हिमाली जडीबुटी र लोपोन्मुख जनावरको विनाश भएको स्थानीयवासीको भनाई छ । रासस