काभ्रेपलाञ्चोक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलले जिल्लाका ५ हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउने भएको छ । जिल्ला कार्यान्वयन एकाईले गत पुस १५ गतेभित्र आवास निर्माण सम्झौता गरी पहिलो किस्ता रकम नलिएका ५ हजार ३ सय ७२ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाउन पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयमा सिफारिस गर्ने भएको हो ।
प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि भूकम्पपीडितले गत पुस १५ गतेभित्र पहिलो किस्ता अनुदान रकम बुझ्नु पर्ने अन्तिम सूचना जारी गरेको थियो । तोकिएको समयसीमाभित्र पहिलो आवास अनुदान रकम नलिएकालाई लाभग्राही सूचीबाट हटाउन लागिएको धुलिखेलस्थित कार्यालयका निमित्त प्रमुख रामप्रसाद ख्याजूले जानकारी दिएका छन् । उनका अनुसार लाभग्राहीमा सूचीकृत भएका तर तोकिएको समयसीमाभित्र अनुदान रकम नलिएका लाभग्राहीहरु हट्ने भएका हुन् । उनले भने, ‘प्राधिकरणबाट आवास पुनःनिर्माण सम्झौता नगर्नेको नाम पठाउन प्रक्रिया थालेका छौं, सोही अनुसार सूची तयार भइसकेको छ ।’ जिल्लास्थित सरोकारवाला निकायसँग समन्वय गरी पूर्वाधार कार्यालयले आवास पुनःनिर्माण सम्झौता नगर्नेको नाम निर्णय गरी प्राधिकरणको केन्द्रीय कार्यालय पठाउने जनाएको छ ।
प्राधिकरणले यसअघि सम्झौता भएका भूकम्पपीडितले पुस १५ गतेभित्र सम्झौता गरी आवास पुनःनिर्माणको प्रथम किस्तावापतको ५० हजार लैजानु पर्ने समयसीमा तोकेको थियो । हालसम्म आवास पुनःनिर्माणमा सूचीकृत भएका जिल्लाका ८४ हजार ६ सय ९० भूकम्पपीडित परिवारमध्ये ५ हजार ३ सय ७२ सम्पर्कमा आएका छैनन् । विभिन्न चरणको गुनासोपछि लाभग्राहीमा सूचीकृत तथा पहिलो चरणमा सम्झौता गरेकासमेत सम्पर्कमा नआएको पूर्वाधार कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बनेपा नगरपालिकामा ५ सय ४९, मण्डनदेउपुर नपामा ४ सय ६२, धुलिखेल नपामा ४ सय ६१, पाँचखाल नपामा ६ सय १३, पनौती नपामा ६ सय ४३, नमोबुद्ध नपामा ७ सय १५ तथा बेथानचोक गाउँपालिकामा ३ सय २७, भुम्लुमा २ सय ७१, चौंरीदेउरालीमा ४ सय १७, खानीखोलामा ८३, महाभारतमा ५१, तेमालमा ३ सय २६ र रोशी गाउँपालिकामा ४ सय ५४ भूकम्पपीडित परिवारले आवास अनुदान रकम सम्झौता नगरेका हुन् । हालसम्म ६३ हजार ६ सय ८८ परिवारले दोस्रो किस्ता तथा ५७ हजार ५ सय ९५ परिवारले तेस्रो किस्तावापतको रकम बुझिसकेको कार्यालयले जनाएको छ ।
दोस्रो किस्तावापत १ लाख ५० हजार तथा तेस्रो किस्तावापतको १ लाख रकम आवास पुनःनिर्माण सकेपछि दिने नीति छ । जिल्लामा ५ हजार ३ सय ६० लाभग्राहीमा सूचीकृत भूकम्पपीडितले आवास पुनःनिर्माणका लागि प्राधिकरणसँग सम्झौता गरेनन् ।
कार्यालयले तेस्रो किस्तावापतको रकम भूकम्पीडितले बुझेको आधारमा काभ्रेपलाञ्चोकमा ७६ दशमलब ८५ प्रतिशत आवास पुनःनिर्माणको सकिएको जनाएको छ । कार्यालयमा हालसम्म स्वेच्छिकरुपमा ५२ जनाले आवास पुनःनिर्माणको पहिलो किस्तावापतको रकम फिर्ता गरेका छन् भने संघसंस्थामार्फत आवास पुनःनिर्माण गरेका १ सय ६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ । संघसंस्थाको सहयोगमा आवास पुनःनिर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान छ । रासस