संखुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात सुरु

काठमाडौं । जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथांकामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथांका र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथांकास्थित सीमा प्रहरी चौकीले जानकारी दिएको छ ।

शनिबार रातिदेखि सुरु भएको हिमपातले २ फिट माथिसम्म थुप्रिएपछि स्थानीयवासीको जनजीवन कष्टकर बनेको र पशु चौपायालाई समेत सास्ती भएको भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेनछेवी भोटेले जानकारी दिएका छन् । उनका अनुसार ४ दिनदेखि पशु चौपायालाई चराउन र अन्य घर बाहिरको कामकाज गर्नसमेत कठिनाई भएको छ ।

५ महिना अघिबाट यस क्षेत्रमा हिमपात नभइरहेको बेला यस वर्षको पहिलो पटक ४ दिन अघिबाट हिमपात सुरु भएपछि सो क्षेत्रको छेसुम्बा, गुम्बालगायतका डाँडामा सेताम्य हिउँ परेको देखिन्छ । यसरी नै संखुवासभाकै मकालु हिमालको आसपास क्षेत्र माङ्सिमा, सेदुवा, हटिया, चेपुवालगायतका क्षेत्रमा चिसो बढेसँगै आकस्मिक हिमपात भएको मकालु गाउँपालिकाका विमन पराजुलीले जानकारी दिएका छन् ।

यता जिल्लाको दक्षिणी क्षेत्रको धर्मदेवीको टुटे देउराली, तीनजुरे, चैनपुर नूनढाकीको गुफापोखरी र मिल्के जलजले क्षेत्रमा समेत हिमपात भएको चैनपुर–१ गुफापोखरीका स्थानीयवासी हिमा खनालले जानकारी दिएका छन् ।

पर्यटकीय गन्तव्य बन्दै आएको चैनपुरको गुफापोखरी क्षेत्रमा चिसोको प्रवाह नगरी हिमपात क्षेत्रमा हिउँ खेल्नका लागि आसपास क्षेत्रबाट आन्तरिक पर्यटकको चहलपहल सुरु भएको खनालले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...