बैतडीकी भागरथी प्रकरणबारे बुझ्न सुदुरपश्चिम प्रहरी प्रमुख सुवेदी घटनास्थलतर्फ प्रस्थान

बैतडी । सुदुरपश्चिम प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चुडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्याको सुपरीवेक्षणका लागि आफैं घटनास्थलतर्फ गएका छन् । स्रोतका अनुसार सुवेदी आज बिहानै घटनास्थलतर्फ लागेका हुन् । सुवेदीले घटनाको छानविनका लागि एसएसपी जनकराज पाण्डेलाई शुक्रबारबाट नै खटाएका थिए ।

यता घटनाको छानविनका लागि मेन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीलाई समेत प्रहरी प्रधान कार्यालय नक्सालले खटाइसकेको छ । प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पठाइएको हो । कञ्चनपुरको निर्मला हत्या प्रकणको समेत अनुसन्धान गरेको बाखु नेतृत्वको टोलीले भागरथी हत्या प्रकरणको प्राविधिक विश्लेषणमा सहयोग गर्ने भएको छ । भागरथीको मोबाइल प्रहरीले बरामद गरिसकेको र कल डिटेलको विश्लेष्ण गर्ने बताइएको छ । कल डिटेलको विश्लेष्णबाट अनुसन्धानमा थप सहयोग पुग्ने अनुमान गरिएको छ ।

गाउँपालिकाको सनातन धर्म माध्यामिक विद्यालयमा पढ्दै गरेकी भागरथी बुधबार साँझबाट हराएकी थिइन् । विद्यालयबाट घर नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो । खोजी कै क्रममा बिहीबार बिहान उनको शव लवलेक सामुदायिक जंगलमा भेटिएको थियो ।

कमेन्टहरु
Loading...