शीतको टहरामा बस्दै बाढीपीडित

लमजुङ । यहाँका बाढीपहिरोपीडित शीत झर्ने टहरामा बस्न बाध्य हुँदै आएका छन् ।

गण्डकी प्रदेशअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरो पीडित जाडो याममा शीतको टहरामा बस्दै आएका छन् । गत साउन ७ र ८ गते गएको बाढीपहिरो पीडित ८१ घरधुरीका स्थानीयवासी घरबारविहीन भएपछि सोही वडामा जस्तापाताको टहरामा बस्दै आएका छन् । विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा अस्थायीरूपमा निर्माण गरिएको जस्तापाताको टहरामा बस्नलाई समस्या हुने गरेको उनीहरूको भनाई छ ।

चारैतिर जस्तापाताले अस्थायी टहरा निर्माण गरिएकाले पुस माघको चिसो मौसममा बिहान शीतले ओछ्यान भिज्ने गरेको गीता मगरातीले बताए । उनले भने, ‘घाम नलाग्ने बेलामा भित्र बस्दा पनि चिसो हुने गरेको छ, त्यही माथि जस्तापाताको बार र छानो रहेकाले शीतले गर्दा सुत्न बस्नलाई समस्या भइरहेको छ । हामी उमेर पुगेकालाई त जसोतसो गरेर पनि हुन्थ्यो, मेरो त ५ र १५ महिनाका २ बच्चा छन्, झनै समस्या भएको छ ।’ उनीहरूलाई चिसोका समयमा परेको शीतले गर्दा टहराभित्र राख्दा पनि चिसोले बिरामी भइरहेको बताइन् ।

त्यस्तै अञ्जु मगरातीले भनिन्, ‘टिनको टहरा भएकाले शीत पर्छ, त्यस्तैले भकारी राखेर शीत तथा चिसो छल्ने गरेपनि भकारी नै भिजेर शीत ओछ्यानमै छिर्ने गरेकाले समस्या भइरहेको छ । केही दिनबाट बढेको चिसोले झन् घरमा मेरो १० महिनाको बच्चा छ, बच्चालाई जति न्यानोसँग राख्न खोजे पनि चिसो हुने गरेको छ ।’

उनीहरू मात्र होइन यहाँ बसेका धेरै परिवारमा नौदेखि १० महिनाका बालबच्चा बढी रहेकाले उक्त समस्या उनीहरूमा पनि उस्तै छ । चारैतिर जस्तापाताले बनाइएकाले पुस माघमा जाडो र चैत वैशाखमा गर्मीले सुत्न बस्नलाई समस्या हुने बाढीपहिरोपीडित तारा अछामीले बताइन् । उनले भनिन्, ‘यहाँ बालबच्चा र वृद्धवृद्धा नै बढी मर्कामा परेका छन् । तत्काल समस्या समाधान होलाजस्तो छैन ।’ यहाँका बाढीपहिरो पीडितले स्थिररूपमा दिगो हुने गरी यहाँको समस्या समाधान छिटो गरिदिन सरकारलाई आग्रह गरेका छन् ।

यस वडाका वडाध्यक्ष प्रेमबहादुर बस्नेतले भने, ‘यो समयमा चिसो त भइहाल्छ, तर उनीहरूले चिसोले समस्या भयो भनेर गुनासो नगरेका छैनन् ।’ उनका अनुसार उनीहरूका विविध समस्या समाधानका लागि वडा कार्यालयदेखि पालिकाले बाढीपहिरा पीडितका लागि निजी आवास पुनःनिर्माणको प्रयास गरेको छ । ‘केही दिनअघि मात्र प्रदेश सरकारलाई यसबारे जानकारी गराउँदै निजी आवास पुनःनिर्माणका लागि आग्रह गर्छौं ।’ उनले भने । यससम्बन्धी प्रदेशमा कार्यविधि बनाउने तयारीमा रहेको र उनीहरूको निजी आवास पुनः निर्माण कार्य अगाडि बढाउने जवाफ दिएको वडाध्यक्ष बस्नेतले बताएका छन् ।

विभिन्न संघसस्थाले गरेको सहयोग रकममध्ये १ करोड रहेको र सो रकम उनीहरूलाई जग्गा खरिदका लागि दिने वडा कार्यालयले जनाएको छ । निजी आवास पुनःनिर्माणका लागि बाढीपीडितले जग्गा खोज्न थालेको वडा कार्यालयले जनाएको छ । सो अवधिमा बाढीपहिरोले तरापु पल्लोटारीका ८१ घरमध्ये २१ घर पूर्ण क्षति, ३२ घर आधाजस्तै भत्किएको र २८ घर उच्च जोखिममा परेको छ । रासस

कमेन्टहरु
Loading...