बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीमा १ किशोरी शंकांस्पद रुपमा मृत भेटिएकी छिन् । स्थानीय लवलेक जंगलमा १७ वर्षीय किशोरी भागरथी भट्ट शंकास्पद तथा विभत्स अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको हो ।
प्रहरीका अनुसार बुधबार उनी विद्यालय गएकी थिइन् । तर विदालयबाट घर नफर्किएपछि खोजी गर्दै जाँदा हिजो बिहीबार साँझ ५ बजे भट्टको शव हत्या गरेर फालिएको असस्थामा भेटिएको हो । मृतक किशोरी शिवराज भट्टका अनुसार भागरथीको शरीरभरी निलडाम तथा घाउ रहेका छन् । त्यस्तै उनको कपडा समेत च्यातिएको अवस्था रहेको उनको भनाई रहेको छ ।
भागरथी बुधबार विद्यालयमा उपस्थित थिइन् । बुधबार पश्चात् घटना भएको हुन सक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले आशंका व्यक्त गरेका छन् । घटना निकै दुखद् भएको र संलग्नलाई कडा कारवाही गर्न प्रधानाध्यापक नाथले माग गरेका छन् ।
जंगलको बीचमा शव भेटिएको तथा किशोरीको कपडा सबै खोलिएको अवस्थामा भेटिएको भए पनि घटनाका विषयमा अनुसन्धानपछि नै थप भन्न सकिने अवस्था रहेको घटनास्थलमा खटिएको खोचलेक प्रहरी चौकीका प्रमुख मोती बमले बताएका छन् । घटना शंकास्पद नै भएको भने उनले बताए । बैतडीका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले खोचलेकस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथीको शव भेटिएको घटनालाई आफूहरुले गम्भीर रुपमा लिएको तथा दोषीलाई कानुनअनुसार कडा कारवाही गरिने बताएका छन् । घटनाका विषयमा थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत मगाइएको उनले जानकारी दिएका छन् ।