म्याग्दीमा ६१ प्रतिशत निजी आवास पुनःनिर्माण

म्याग्दी । म्याग्दीमा ६१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण सकेका छन् ।

विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ६०२ जनाले आवास पुनःनिर्माण गरेका हुन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख नारायण ढकालका अनुसार ९ सय ८१ लाभग्राहीले ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेका छन् । ‘६ सय ६५ जनाले दोस्रो किस्ता लगेका छन् ।’ उनले भने, ‘सम्झौता गरेका ८३ जनाले अनुदान लगेका छैनन् ।’

सम्झौता गरेर पहिलो किस्ता अनुदान नलैजाने र पुनःनिर्माण सुरु नगर्नेलाई लाभग्राहीको सूचीबाट हटाउने प्रक्रिया अघि बढाउने तयारीमा रहेको कार्यालय प्रमुख ढकालले बताएका छन् । भूकम्पबाट कम प्रभावित जिल्लाको सूचीमा पर्ने म्याग्दीमा २०७३ चैतदेखि सम्झौता र २०७४ मंसिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुनःनिर्माण सुरु गरिएको थियो । दोस्रो किस्तावापत डिपिसी गरेपछि १ लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत १ लाख अनुदान उपलब्ध गराउने कार्यविधि छ ।

प्राविधिक आउनुअघि बनेका १ सय ४२ वटा घरका धनीलाई गत वर्ष एकमुष्ट २ लाख ५० हजारका दरले भुक्तानी गरिएको थियो । उनीहरुले यसअघि ५० हजारका दरले अनुदान लगेका थिए । छुट तथा पुनः सर्वेक्षणबाट थपिएका १ सय ८० जनामध्ये १ सय ४० जनासँग सम्झौता भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७७ मंसिर मसान्तसम्म सम्झौता र २०७७ पुस १५ गतेभित्र पहिलो किस्ता अनुदान लगिसक्नुपर्ने समय तालिका बनाएको थियो ।

समयतालिकाअनुसार आवासको डिपिसी (जग बसाल्ने) काम सकेर दोस्रो किस्ताको लागि २०७७ माघ मसान्त र अन्तिम तथा तेस्रो किस्ता भुक्तानीका लागि २०७८ वैशाख मसान्तभित्र स्थानीय तहमा निवेदन पेश गर्नुपर्छ । विसं २०७३ पुसमा इञ्जिनियरहरु परिचालन गरेर १ हजार ३ सय ५० घर सर्वेक्षण गरिएको थियो । सर्वेक्षण गरिएकामध्ये ९८१ लाभग्राही पहिचान भएका हुन् ।

पहिलो किस्ता लगेर दोस्रो किस्ता लिन बाँकीको संख्या ३ सय १६ छ । ४ वर्षअघि अनुदान पाए पनि जग्गा व्यवस्थापनलगायत समस्याले गर्दा बल्ल अहिले घर पुनःनिर्माण सुरु गरेको अन्नपूर्ण गाउँपालिका–२ कटुञ्जेका डिलबहादुर राम्जालीले बताएका छन् । राम्जालीको कटुञ्जेस्थित घर भूकम्पले जीर्ण बनाएकाले ठूलोबगरमा जग्गा व्यवस्थापन गरेर नयाँ घर निर्माण सुरु गरेका छन् ।

पहिलो किस्ता लगेर घर पुनःनिर्माण सुरु गरी दोस्रो किस्ता लिनै नआएका लाभग्राहीका कारण पुनःनिर्माणमा चुनौती देखिएको छ । ‘पुनःनिर्माण सुरु नगरेकालाई अनुदान फिर्ता गर्न स्थानीय तहमार्फत ताकेता गरिएको छ ।’ कार्यालय प्रमुख ढकालले भने, ‘पहिलो र दोस्रो किस्ताको अनुदान लिनेको अन्तर घट्दै गएकाले आगामी वैशाख महिनाभित्र निजी आवास पुनःनिर्माण सक्ने लक्ष्य पूरा हुने आशामा छौं ।’

भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगंगा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका ३ घरधुरीलाई जग्गा खरिदका लागि थप २ लाख उपलब्ध गराइएको छ । प्राधिकरणमार्फत सञ्चालित १८.५४ किलोमिटर दूरीको घारखोला–चित्रे सडक स्तरोन्नति आयोजनाको हालसम्म करिब ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

पोखरेबगर–पाउद्वार सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । २५ मिटर लामो पुल निर्माणको काम ठेक्का सम्झौता भएको १ वर्षपछि सुरु भएको हो । रासस

कमेन्टहरु
Loading...