हुम्लाको लिमी गाउँ ५ महिनाका लागि बन्द

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ५ महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ ५ महिनाका लागि बन्द भएको छ ।

लिमी प्रवेश गर्ने २ वटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्काे कुनै विकल्प नभएपछि ५ महिनाका लागि बन्द भएको हो । २ वटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिएका छन् । केही दिन अगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको ४ हजार ६ सय मिटर अग्लो नारा लेक र ५ हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको छ । यी दुवै बाटो अब आगामी जेठ महिनामा मात्रै खुल्ने छ । ५ महिनाका लागि बन्द भएपछि लिमी आउने जाने कार्य बन्द भएको छ ।

दुवै नाकामा चारदेखि ५ फिटसम्म हिउँ जम्ने भएकाले लिमी जाने बाटो बन्द भएका हुन् । नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा बादल लाग्दा र हिमपात हुँदा बन्द हुने भएपछि लिमी सञ्चार सम्पर्कविहीन भएको छ । यद्यपि बेलाबेला आउजाउ भइरहने वल्र्डलिंकको इन्टरनेट सेवा भने अहिले सम्पर्कको माध्यम भएको हल्जी गाउँका स्थानीयवासीले बताएका छन् ।

सडक बन्द भएपछि बिरामी तथा अत्यावश्यक काम पर्दा हेलिकोप्टर रिजर्भ गर्नुको अन्य विकल्प छैन । हिमपातपछि बाटो बन्द हुने भएका कारण ६ महिनाका लागि दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिने भए पनि यस वर्ष कोरोनाको कारणले त्यो काम पनि हुन नसकेको बताइएको छ । गत मंसिरमा खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीबाट ढुवानी अनुदानको ७ सय क्विन्टल खाद्यान्न लिमी पुगेको थियो । लिमी उपत्यकाका साथै हिल्सा नाका पनि हिमपातपछि बन्द भएको छ । रासस

कमेन्टहरु
Loading...