काठमाडौं । बासना कला केन्द्रको प्रस्तुति रहेको चलचित्र ‘तृष्णा’ गत शुक्रबार केन्द्रकै प्रेक्षालयमा एक समारोका बिच सार्वजनिक गरिएको छ । चलचित्रकी नायिका लक्ष्मी आले क्षत्रीले केक काटेर निर्देशक मनोज विक ‘भावुक’ लाई खुवाइन् भने ‘भावुक’ले नायिका क्षत्रीलाई खुवाए पश्चात चलचित्रको प्रदर्शन गरियो ।
माया,स्वार्थ,घृणा,प्रतिशोध र आत्मग्लानी मिश्रित मार्मिक प्रेम कथामा आधारित चलचित्र ‘तृष्णा’को कथा,संवाद,छायाँकन,सम्पादन र निर्देशन मनोज विक ‘भावुक’ को रहेको छ भने कलाकारहरु लक्ष्मी आले क्षत्री,गौतम रसाइली,गुना थापा,कमल बोगटी,रीता श्रेष्ठ,तारा श्रेष्ठ,उदय राई,ज्योति खड्का र सैना श्रेष्ठले अभिनय गरेका छन् ।
रमणीय ठाउँहरु घुम्दै गाउँ पसेका युवकले घाँस काटिरहेकी युवतीको फोटो खिच्न पुग्छन् । युवती (लक्ष्मी आले क्षत्री) ले आफ्नो फोटो कसैले खिचेको थाहा पाएपछि अनुमतिबिना किन फोटो खिचेको भन्दै युवकसँग उक्त फोटो मेटाइदिन अनुरोध गर्छिन् । युवक भने सुन्दर ठाउँमा यति सुन्दर मान्छेको फोटो खिच्न पाएकोमा खुशी व्यक्त गर्दै नजिकिन चाहन्छन् ।
यही विन्दुबाट कथाको उठान हुन्छ र कथा अघि बढ्दै जान्छ । युवती देखिपछि आफ्नो बनाउन माहिर तर शारीरिक तृष्णा पूरा भएपछि टाढिन पनि उत्तिकै सिपालु युवककै वरिपरि कथा बगेको छ, जुन भूमिका निभाएका छन्, गौतम रसाइलीले । उनको आफ्नै शारीरिक तृष्णाले मानसिक रुपमा वितृष्णा पैदा गराएपछि चलचित्रको कथाले विश्राम लिन्छ । यसको लागि झण्डै आधा घण्टाको चलचित्र हेर्नेपर्ने हुन्छ ।
देशव्यापी बन्दाबन्दीको समयमा पनि ‘ओत’ लगायतका आधा दर्जनभन्दा बढी लघु चलचित्र निर्देशन र त्यति नै सङ्ख्यामा म्युजिक भिडियो निर्माण गरिसकेका मनोजले निकट भविष्यमा ठूलो पर्दाको चलचित्रमा समेत निर्माण गर्न तयारी भइरहेको जानकारी हामीलाई गराए ।
https://youtu.be/RPqyXSDn164