पोखरा । जंगलको छेउमै पानीको मूल । मूलबाट बगेको पानी सिधै हात थापेर पिउन सकिन्छ । प्राकृतिक जलस्रोत तीतेपानीको मूलको पानी वैज्ञानिक परीक्षणबाट पनि सिधै पिउन योग्य प्रमाणित भएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र रानीवनको छेउमा रहेको प्राकृतिक पानीको मूलका कारण ठाउँको नाम नै तीतेपानी भए पनि यहाँको पानी अति नै स्वादिलो भएको उपभोक्ता बताउँछन् । बिहानदेखि बेलुकासम्म यहाँ पानी लिन आउनेको लर्को नै लाग्छ । धेरैै स्थानमा तातोपानी, खारापानी, नूनीलोपानीलगायतका विभिन्न स्वादका पानी भेटिए पनि तीतेपानी भनेर अन्यत्र खासै सुन्न र उपयोग गर्न नपाएको इञ्जिनियर जीवन शेरचनले बताए ।
खानेपानी संस्थान पोखरा शाखाका पूर्वप्रमुखसमेत रहेका उनका अनुसार विगत १० वर्षअघि प्रयोगशालामा परीक्षण गर्दा सो पानी सिधै पिउन मिल्लले प्रमाणित भएको हो । पोखरामा खानेपानीको व्यवस्था नहुने अवस्थादेखि नै सो पानीको स्रोतको उपयोग गर्दै आएकाले जनस्वास्थ्यको ख्याल राखी पानीको परीक्षण गरिएको उनको भनाई छ । ‘जंगलको छेउमा जमिन मुनिबाट आएको प्राकृतिक स्रोतको पानी कुनै पनि उपचार नगरी सिधै पिउन सकिन्छ ।’ उनले भने । बिहानी मिरमिरेदेखि राति १२ बजेसम्म पानी भर्ने उपभोक्ताको लाइन लाग्ने गरेको स्थानीय दानबहादुर शाही बताउँछन् । पानीको स्वाद चाखेका पोखरा– १७ लगायत वडा नं ७ र ८ का बासिन्दा पानी लिनका लागि अहिले पनि तीतेपानी मूलमा आउने गरेका छन् ।
मूलको पानी पाइप विस्तार गरेर नमूनाटोल र अमले टोलका झण्डै ३ सय घरपरिवारले उपयोग गर्दै आएको स्थानीय उपभोक्ता धर्मदत्त तिमिल्सिनाले जानकारी दिएका छन् । लामो समयदेखि निरन्तर सिधै उपयोग गर्दै आएको सो क्षेत्रका उपभोक्तालाई आजसम्म पानीका कारण स्वास्थ्यमा कुनै पनि समस्या देखिएको छैन उनले भने, ‘तीतेपानी मूलको पानी एक पटक खाएपछि छोड्नै मन लाग्दैन ।’
तीतेपानीको स्रोत, शान्त वातावरण एवं मनोरम सो स्थानमा रहेको लगभग १० रोपनी सार्वजनिक जग्गामा पानी संकलन ट्यांकीका साथै पार्क, विश्रामस्थल, शौचालय एवं किरियापुत्री भवनसमेत निर्माण गर्ने योजना अघि सारिएको इञ्जिनीयर किसानसिं गुरुङ बताउँछन् ।
तीतेपानी मूलसँगै रहेको रानिवनलाई सरकारले जैविक विविधता उद्यानका रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर कामको थालनीसमेत गरेको छ । निर्माण कामले भने तीव्रता पाउन सकेको छैन । सो क्षेत्रमा भौतिक संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । उक्त निर्माणका लागि ३५ लाखमा खर्च लाग्ने अनुमान छ । छरिएर रहेका पानीका स्रोतलाई एकीकृत गरी पानी संकलन ट्यांकीमा जम्मा गरिनेछ ।
हिउँदका महिनामा मंसिरदेखि वैशाखसम्म सो मूलमा पानी कम भए पनि वर्षाका समयमा भने प्रशस्त हुने गरेको छ । मूलको पानी वर्षादका समयमा उपभोक्ताले खानेपानीसहित कृषि उत्पादनमा समेत प्रयोग गर्दै आएका छन् । मूलबाट सिधै पिउन उपयुक्त पानी विरलै पाइन्छ । यस्तो पानीलाई लेबल लगाएर बजारमा बिक्री वितरण गर्ने हो भने त्यही पानी आयआर्जनको माध्यमसमेत बन्न सक्छ ।
तीतेपानीमा पानीट्यांकी निर्माण गरिने
पानीमध्येको अब्बल र शुद्ध तीतेपानीमा ५० हजार क्षमताको पानी ट्यांकी निर्माण गरिने भएको छ । कुल १५ लाख खर्च हुने सो ट्यांकी निर्माणका लागि पोखरा महानगरपालिका वडा नं १७ बाट १० लाख विनियोजन गरेको छ ।
बाँकी स्थानीय जनश्रम परिचालन गरिने भएको छ । रातिको समयमा खेर जाने पानीलाई सकंलन गरी उपभोक्तालाई सर्वसुलभ तरिकाले उपलब्ध गराउने उद्देश्यका साथ पानी ट्यांकी निर्माण गर्न लागिएको हो । निर्माणाधीन पानीट्यांकीमा सात वटा धारा जडान गरिनेछ । जसमा ५ वटा सर्वसाधारणका लागि र २ वटा किरियापुत्रीका लागि व्यवस्था गरिने तीतेपानी संरक्षण समितिले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले उक्त पानी ट्यांकीको एक कार्यत्रमका बीच शिलान्यास गरेका छन् । मूलको पानी प्रयोग गर्ने उपभोक्ताको हितलाई ध्यानमा राखी ट्यांकी निर्माण गरिने उनले बताए ।
पोखरा बजारमा विस्तारित मुख्य वितरण लाइनको पानीको साथै आसपासमा रहेका पानीका स्रोतको संरक्षणसँगै उपयोग गरिने योजना वडाले अघि सारेको बताउँदै उनले यसको निर्माणमा तीनै तहका सरकारको सहयोग रहने विश्वास व्यक्त गरे । पानीको मूलको संरक्षण गर्दै केही तल्लो भागमा निर्माण गरिने ट्यांकीमा कम्तीमा सात वटा धारा जडान गरिने र तीमध्ये ५ वटा सर्वसाधारणका लागि २ वटा धारा किरियापुत्रीका लागि छुट्याइने तीतेपानी संरक्षण समितिका अध्यक्ष पदम ढकालले जानकारी दिएका छन् ।
पानीट्यांकी निर्माणसँगै घण्टौं लाइनमा बसेर १ जार पानी भर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । सो स्थानसम्म पुग्नका लागि कच्ची मोटरबाटोसमेत निर्माण गरिएको छ । फेवातालको दक्षिणी भागस्थित निर्मित फेवाबाँधको तल रहेको डेभिजफल जाने खोला माथिको झोलुंगे पुल पार गरेर पैदल यात्राबाट र छोरेपानस्थित पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफा र डेभिजफलमा आउने पर्यटकलाई सो क्षेत्रसम्म विस्तार गरेर थप पर्यटकीय आकर्षण बढाउन सकिने स्थानीय बासिन्दाको सामुहिक धारणा छ ।
सो स्थानसम्म यातायातका साधानमा पुग्न सकिने उक्त तीतेपानीबाट दैनिक सयौंजनाले पानी टाउकामा नाम्लोले बोकेर लैजाने गरेका छन् । पानीट्यांकी निर्माणले पाइप विस्तार गरी घरघरमा धारा लैजाने र भाँडामा पानी डोकामा बोकेर लैजाने दुवैखाले उपभोक्तालाई शुद्ध खानेपानीको सुविधा पुग्ने विश्वास अध्यक्ष ढकालको रहेको छ । पानीको स्रोतमा पानी भर्नेको दैनिक जात्रा नै लाग्ने गरेको छ ।
महानगर कार्यपालिका सदस्य राधिका योगी शाही, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीका अध्यक्ष सुभास ढुंगाना, नेपाली कांग्रेसका सभापति देवीप्रसाद आचार्य लगायतले विकास निर्माणमा सबैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गरेका छन् । फेवाबाँध तल खोला माथिको जीर्ण झोलुंगे पुल मर्मत हुन नसक्दा तीतेपानीमा पानी लिन जाने उपभोक्ता र पर्यटकलगायत स्थानीय बासिन्दालाई ओहोरदोहोरमा अप्ठ्यारो पर्नुका साथै उच्च जोखिम बढेको छ । रासस