काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा आगलागी भएको छ ।
आज बिहान ९ बजेबाट सुरु भएको आगलागी मन्दिर क्षेत्रको सामुदायिक वनमा लागेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताएका छन् । चापागाईंका अनुसार तीव्र गतिमा हावा चलिरहेकाले पनि आगलागी झन् फैलिंदै गएको छ ।
माथिल्लो फेदीका स्थानीयबासिन्दाले आगलागी मन्दिरसम्म पुग्ने सम्भावना रहेका बताएका छन् । त्यहाँको बस्ती भने डढेलोको जोखिममा नरहेको बनाइएको छ । वनमा कसैले आगलागी गराएको हुन सक्ने आशंका गरिएको छ ।
उक्त क्षेत्रमा बिहीबार पनि कसैले आगलागी गराएका थिए । तर बिहीबारको आगलागी मन्दिरका कर्मचारी तथा प्रहरी मिलेर निभाएका थिए । आजको आगलागी नियन्त्रणका लागि जनशक्ति समेत कम भएको बताइएको छ । चिसोका कारण होटल तथा लजहरु बन्द भएकाले आगलागी नियन्त्रणका लागि जनशक्ति कम भएको हो ।
आगलागीबाट उक्त मन्दिर जाने चौतारा, धर्मशाला तथा फलैंचा जोखिममा परेका छन् ।
आगलागी भएको स्थानसम्म पुग्न सदरमुकामबाट करिब साढे २ घण्टा लाग्छ । प्रमुख जिल्ला अधिकारी चापागाईंका अनुसार आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली त्यसतर्फ खटाइएको छ ।