नेपालका फिल्म हल पुस १० गतेबाट सञ्चालन हुँदै

काठमाडौं । नेपालका फिल्म हलहरु आगामी पुष १० गतेबाट खुल्ने भएको छ । गत चैत्रको ११ गतेबाट कोरोना भाइरस महामारीका कारण बन्द रहेका फिल्म हलहरु पुष १० गतेबाट एकतर्फी रुपमा खुलाउने चलचित्र संघले घोषणा गरेको हो ।

सरकारले कोरोना महामारीका कारण बन्द गरेका विभिन्न व्यवसायलाई पूर्ण रुपमा खुलाएको भए पनि फिल्म हल खुला गर्न सक्रिय नदेखाएको भन्दै एकतर्फी रुपमा खुला गर्न लागिएको संघले जानकारी दिएको छ ।

सरकारलाई बारम्बार फिल्म हल सञ्चालनका लागि माग गरिएको भएपनि सुनुवाई नभएपछि ९ महिना पश्चात् एकतर्फी हल सञ्चालन गर्न लागिएको संघका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिएका छन् ।

संघका महासचिव अशोक शर्माले विगत ७ महिनामा पटक–पटक हल सञ्चालनका लागि सरकारसंग माग गरेको भए पनि आफूहरुको मागलाई सम्बोधन गर्ने कार्य नभएको बताए । सरकारले आफूहरुलाई आश्वासनमात्र दिएको उनको आरोप रहेको छ ।

आगामी पुष १० गतेबाट हल सञ्चालनमा ल्याउँदा सरकारले आफूहरुलाई नियन्त्रणमा लिएपनि गिरफ्तारी दिन तयार रहेको उनले चेतावनी दिएका छन् । शर्माका अनुसार स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने तयारी भइरहेको छ ।

संघले सरकारसंग मनोरञ्जन कर खारेज गर्नुपर्ने, चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रका रुपमा सम्बोधन गनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनेपर्ने लगायतका अन्य माग गरेको छ ।

यस्तै एकतर्फी हल सञ्चालन गर्ने कार्यलाई आफूहरुको आन्दोलनको पहिलो चरणका रुपमा लिन समेत संघले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...