तेह्रथुम । तेह्रथुममा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गएको छ ।
जिल्लाको छथर गाउँपालिका वडा नम्बर ६ सुदाप च्याङलुङमा बनाइएको प्लास्टिकको पोखरीमा डुबेर ६ वर्षकी रोजिना लिम्बु, ७ वर्षकी रञ्जना लिम्बु तथा ८ वर्षकी सुहाना लिम्बुको उक्त पोखरीमा डुबेर ज्यान गएको हो । रोजिना र रञ्जना दिदीबहिनी भएको बताइएको छ ।
स्थानीयले सो पोखरी तरकारीमा सिचाई गर्न प्लास्टिकले बेरेर बनाएका थिए । तीनै जना बालिका दिउँसो घरबाट खेल्न निस्किएका थिए । अबेरसम्म पनि उनीहरु घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिकको पोखरीमा डुबेको अवस्थामा उनीहरुको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । पौडी खेल्न उनीहरु पोखरीमा पसेको र चिप्लिएर निस्कन नसकेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।