जिम्मेवारी पाँच जिल्लाको, अनुगमन तीनको मात्रै

उपेन्द्र खनाल

तनहुँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लाको अनुगमन गर्ने जिम्मेवारी पाएको भएपनि कर्मचारी अभावले तीन जिल्लाको मात्रै अनुगमन गर्दै आएको छ । दरबन्दी अनुसार कार्यालयमा कर्मचारी नहुँदा अनुगमन प्रभावित बनेको हो । विभिन्न जिल्लाको गरी करिव दश हजार खाद्य व्यवसायीको अनुगमन गर्ने जिम्मा कार्यालयको हो तर हुन सकेको छैन ।

तनहुँमा मात्रै दुई हजार दुई सय भन्दा बढी खाद्य व्यवसायी छन् । यहाँ हप्तामा दुई दिन बिराएर अनुगमन गरिदै आएको छ । तर, अन्य जिल्लामा भने खासै अनुगमन गर्न सकिएको छैन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोख्रेल भन्छन् ।

‘तनहुँका विभिन्न बजारमा दुई दिन बिराएर अनुगमन गर्दै आएका छौ । यहाँ अनुगमन प्रभावकारी भएको छ । तर, अन्य जिल्लामा अनुगमनलाई प्राथमिकता दिन सकेका छैनौ । कार्यालयमा म एक्लै छु । एक्लैले जताततै भ्याउनुपर्ने बाध्यता छ तर सकिएको छैन,’ उनले भने ।

तनहुँसहित गोरखा, लमजुङ, मनाङ र पुर्वीनवलपरासीको अनुगमन गर्ने जिम्मेवारी कार्यालयको हो । तर सबै जिल्लामा अनुगमन गर्ने कर्मचारी पुग्न सकेका छैनन् जसले गर्दा अनुगमन प्रभावित बनेको छ । समयसमयमा अनुगमन नहुँदा स्थानीयले समेत स्वच्छ खाद्याान्न उपभोग गर्न पाएका छैनन् ।

‘अहिले अनुगमनको लागि म एक्लै जताततै हिँडेको छु । कार्यालयमा एउटा कार्यालय सहायक मात्र छन् । एउटाले कार्यालय कुर्नुपर्यो जताततै म आफै दौडिनुपर्दा पनि समस्या भएको हो ।’,उनले भने ।

कार्यालयमा तीन जनाको दरबन्दी भएपनि दुई जना प्राविधिक खाली छन् । जनशक्ति अभावले जम्मै जिल्ला पनि जान सकिएको छैन । कार्यालयमा चार पांग्रे सवारी साधन पनि छैन । तनहुँमै अनुगमन गर्दा मोटरसाइकलले सहज गराएपनि बाहिरी जिल्ला जाँदा समस्या हुन्छ । भन्ने बित्तिकै सवारी साधन पाइदैन । कार्यालयमा चारपांग्रे सवारी छैन । रिजर्ब गरेर जाँदा चर्को शुल्क लाग्छ । एकातिर कर्मचारीको अभाव, अर्कोतिर सवारी साधन छैन । त्यसकारण बाहिरी जिल्लाको अनुगमनलाई निरन्ंतरता दिन नसकेको उनले बताए ।

सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न, खाद्य पदार्थमा कुनै अवान्छनिय मिसावट रोक्न वा खाद्य पदार्थमा रहको अस्वभाविक कुनै गुण वा उपयोगिता घटाउन नपाउने र खाद्य पदार्थको उचित स्तर बनाइ राख्नको निमित्त कार्यालयले नियमित अनुगमन गर्दै आएको छ । आर्थिक वर्ष ०७७/०७८ को साउन देखि संकलन गरेका नमुना मध्ये दुई वटा नमुना खाद्य ऐन विपरित पाइएकाले सो सम्वन्धमा अनुसन्धान भै रहको कार्यलयले जनाएको छ ।

अनुगमन नगरिएको जिल्लामा छिटै गरिने
अहिलेसम्म बजार अनुगमन नगरिएको पुर्वीनवलपरासी र मनाङमा अव छिटै अनुगमन गर्ने कार्यालयले जनाएको छ ।

‘मनाङमा अव पुष महिनामा अनुगमन गर्ने तयारी गरेका छौ, कार्यालय प्रमुख पोख्रेलले भने, ‘अहिलेसम्म एकपटक पनि अनुगमन गरेका छैनौ अव छिटै गर्ने तयारी छ ।’ पाँच जिल्लाको खाद्य व्यवसायीको अनुगमन र निरीक्षण गर्नुपर्छ तर कर्मचारी अभावले सकिएको छैन ।

यस विषयमा विभागलाई जानकारी भएपनि कर्मचारी परिपुर्ति नहुँदा अनुगमन गर्न समस्या भएको हो । कार्यालयले किराना पसल, होटेल, उद्योगलगायतको निरीक्षण गर्दै आएको छ । १५ कार्तिक ०७५ देखि तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरी अनुगमन सुरु गरिएको हो ।

गोरखा र लमजुङमा एक/एक पटक
कार्यालयले आर्थिक वर्ष ०७७/०७८ मा गोरखा र लमजुङमा एकएकपटक मात्रै अनुगमन गरेको छ । कर्मचारी अभावका कारण कार्यालयले अनुगमन गर्न नसकेको हो । कार्यालयले गतवर्ष गोरखामा तीन पटक अनुगमन गरेको थियो । त्यस्तै लमजुङमा दुईपटक अनुगमन भएको थियो । खाद्य स्वच्छता कायम राख्न कार्यालयले होटेल, किराना पसल तथा उद्योगहरुमा अनुगमन गर्नेछ । कालाबजारी र महंगीलाई न्यूनीकरण गर्न पनि बेलाबेलामा अनुगमन आवस्यक छ । तर, जनशक्ति अभावका कारण अनुगमन प्रभावित बन्न पुगेको हो ।

कमेन्टहरु
Loading...