मस्र्याङ्दीबेसी जलविद्युत् आयोजनाको निर्माण रोक्न माग

लमजुङ । लमजुङ सदरमुकाम बेसीसहर नगरपालिका ६ बेलौतीबीसौनामा निर्माण हुन लागेको ५० मेगावाट क्षमताको मस्र्याङ्दीबेसी जलविद्युत् आयोजनाको निर्माण कार्य रोक्न बेसीसहरका युवाहरुले माग गरेका छन् ।

युवाहरुले नगर प्रमुख गुमानसिंह अर्यालललाई ज्ञापन पत्र बुझाउँदै उक्त आयोजना निर्माण कार्य सुरु हुन अगावै रोक्न माग गरेका हुन् । युवाहरुको नेतृत्व गर्दै बेसीसहरका कुमार अर्यालले नगर प्रमुख अर्याललाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख अर्यालले संघीय सरकारले गरेको कामप्रति स्थानीय सरकारले हस्तक्षेप गर्न नमिल्ने बताउँदै केन्द्रीय सरकारको नीतिनियम र अनुमतिमा हाइड्रो सञ्चालन गर्न तयारी भएको बताए । उनले विकासका क्रममा विनास हुने भएकाले राज्यको नीति निर्देशन र सिद्धान्तलाई अनुसरण गर्दै प्रतिनिधिको रुपमा सम्बन्धित निकायमा जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बेसीसहरका २१ जना युवाहरुको हस्ताक्षर रहेको ज्ञापन पत्रमा सहरको छेउमा बग्ने नदीलाई सुरुङभित्र लैजानेगरि विद्युत् उत्पादन गर्नु उपयुक्त नभएकोले निर्माण कार्य रोक्न माग गरिएको हो ।

मस्र्याङ्दी नदीलाई सुरुङभित्र हाल्ने र बेसीसहर बजारको पूर्वपट्टि उभिएको पहाड भित्रबाट सुरुङ निर्माण गर्ने योजना रहेको हुँदा नदीको प्रवाह अवरुद्ध गर्ने र कमजोर पहाडलाई विष्फोटक पदार्थको प्रयोगबाट झन कमजोर बनाई हजारौं वर्ष पहिलेदेखि बसोबास गर्दै आएका जनताको उठिवास गराउने, अझ कमजोर धरातललाई खलबल्याएर पहिरोको जोखिम बढाउने र यति पुरानो घना बस्तीका जनतालाई पहिरो भित्र बिलिन गराइदिने यस्तो परियोजना बेसीसहरका युवाका लागि सहने विषय नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

कमेन्टहरु
Loading...