लुम्बिनी प्रदेशमा ८ सय घरेलु हिंसा

तुलसीपुर । लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८ सय २३ घरेलु हिंसा भएका छन् ।

प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिकसम्ममा सबैभन्दा बढी बाँकेमा घरेलु हिंसा भएका छन् । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार बाँकेमा २ सय ७२, रुपन्देहीमा १ सय ६१, कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६ घरेलु हिंसाका घटना भएका छन् ।

त्यस्तै बर्दियामा ३८, रोल्पामा ३४,अर्घाखाँचीमा ३२, गुल्मीमा २६, पाल्पामा १४, प्यूठानमा १३ र रुकुमपूर्वमा ४ वटा घरेलु हिंसाका घटना भएका छन् । वरिष्ठ प्रहरी उपरीक्षक बैदवारका अनुसार घरेलु हिंसा सबैभन्दा बढी कृषि क्षेत्रमा आश्रय रहेका परिवारमा हुने गरेको पाइएको छ । उनका अनुसार कृषिमा आवद्ध परिवारका ४ सय ७७, गृहिणी २ सय ६८, ज्यामी २७, विद्यार्थी ९, बेरोजगार १३, व्यापारी २०, कर्मचारी ८ र वैदेशिक रोजगारी १ जना रहेका छन् ।

बैदवारका अनुसार हिंसापीडित हुनेमा ७ सय ३६ महिला रहेका छन्, भने ८७ जना पुरुष रहेका छन् । सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेरमा हिंसा भएको पाइएको छ । यस्तै १६ देखि ३५ वर्षका ३ सय ७६, १६ देखि २५ वर्षसम्मका २ सय २५, ३६ देखि ४५ वर्षसम्मका २ सय ५, ४६ देखि ६० वर्षसम्मका १ सय २३ जना हिंसापीडित बनेका छन् । बैदवारका अनुसार महिला हिंसामा २ सय ४९ जना महिला अभियुक्त छन् भने ६ सय ९६ पुरुष अभियुक्त रेहका छन् ।

सबैभन्दा धेरै जबर्जस्ती करणीका १ सय ५५, जबर्जस्ती करणी उद्योगका ५१, बहुविवाहका ४४, बालविवाहका ४, बोक्सीको आरोपमा ६, जातीय छुवाछूतका ३, अप्राकृतिक मैथुन ३, बालयौन दुराचारका १०, अवैद्य गर्भपतनका २, मानव बेचबिखनका ६ र घरेलु हिंसाका मुद्दा दर्ता १ वटा दर्ता भएका छन् । लुम्बिनी प्रदेश मातहतका १२ जिल्ला र ५३ इलाका प्रहरी कार्यालय गरी जम्मा ६५ प्रहरी एकाइबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताएका छन् ।

चालकसँग कुराकानी अभियान

प्रदेश प्रहरी कार्यालयले चालकसँग कुराकानी अभियान पनि सुरु गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ वटै जिल्लामा सोे कार्यक्रम सञ्चालन गरेको हो । मंसिर १४ गतेदेखि सो अभियान सुरु भएको वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताएका छन् । चालकलाई प्रशिक्षण, व्यवसायीसँग समन्वय, सवारी साधनको जाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, अधिक भार, तीव्र गति, मादकपदार्थ सेवन परीक्षण गर्ने कार्य पनि भइरहेको छ । यो अभियान १५ दिनसम्म चल्ने बताइएको छ । रासस

कमेन्टहरु
Loading...