पर्वत । स्याङ्जामा कार्यरत प्रहरीहरुले ‘आई लव यु बुढी’ भन्नुपर्ने कार्यक्रम पश्चात अब पर्वतको एउटा गाउँपालिकामा ‘गाउँ फर्क प्याराप्यारी अभियान’ कार्यक्रम सञ्चालन हुने भएको छ ।
जिल्लाको महाशिला गाउँपालिकामा गाउँमा रोजगार सिर्जना गरेर सोही पेसामा आत्मनिर्भर बनाउने तथा कोरोनाले गाउँ फर्किएकाको अवस्थालाई मध्येनजर गर्दै ‘गाउँ फर्क प्याराप्यारी अभियान’ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले दिएको जानकारी अनुसार विदेशमा रहेकालाई गाउँमा नै फकाएर उद्यमी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
यो कार्यक्रम अन्तरगत उद्यम तथा कुनै व्यवसाय गर्न चाहनेका लागि ब्याजमा अनुदान समेत प्रदान गरिने अध्यक्ष पौडेलले बताएका छन् । उनका अनुसार यो कार्यक्रममा ३ वर्षभित्र विदेशबाट फर्किएर आएका युवायुवती समावेश हुन सक्ने छन् ।
कार्यक्रममा सहभागी हुन चाहने युवायुवतीले व्यसायको प्रस्तावना, पछिल्लो ३ वर्ष विदेशमा बसेर आएको खुल्ने कागजातका प्रतिलिपिहरु तथा ऋण दिने वित्तीय संस्थाको सहमतिपत्र, व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजात गाउँपालिकामा पेश गर्नुपर्ने अध्यक्ष पौडेलले जानकारी दिएका छन् । यी कागजात पेश गरेपछि गाउँपालिकाले ३ लाख को १२ प्रतिशतको दरले अधिकतम २ वर्षसम्मका लागि ब्याज रकम अनुदान दिने छ । कार्यक्रमका लागि आलु आवका लागि १० लाख विनियोजन भएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका अनुसार गाईभैंसी न्युनतम ३ वा सोभन्दा माथि, कुखुरा ५ सय वा सोभन्दा माथि, बंगुर ३० वा सोभन्दा माथि, फलफुल तथा तरकारी खेती ३ रोपनी (३ टनेल) वा सोभन्दा माथि सबैभन्दा धेरै भएकालाई प्रमुख प्राथमिकता दिइने छ ।
कार्यक्रममा सहभागी हुनका लागि सुचना प्रकाशित भएको १५ दिनभित्र निवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ ।