गोरखा । बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित गोरखा क्षेत्रका बासिन्दाले आजबाट मंसिर २४ गतेसम्मका लागि धर्ना सुरु गरेका छन् । डुबान क्षेत्रका जग्गा सहित घर, गोठ, बोटविरुवाको लगत सार्वजनिक, दररेट निर्धारण तथा मुआब्जा दिनुपर्ने लगायत माग राख्दै उनीहरुले आयोजनाको कार्यालय घ्याल्चोकमा धर्ना सुरु गरेका हुन् ।
कोरोना महामारीका कारण २५ जनाभन्दा बढी व्यक्ति धर्नामा नबस्ने समेत बताइएको छ ।
सो क्षेत्रका बासिन्दाले ऐलानी जग्गामा बसोबास गर्नेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा दिनुपर्ने, सीमानामा परेको भनी मुआब्जा रोक्का गरिएको तथा दर्ता छुट भएका जग्गाको मुआब्जा दिनुपर्ने लगायत माग गरेका छन् ।
‘अन्य घरबस्ती क्षेत्र र सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा निर्धारण समितिले निर्धारण गरे बमोजिम प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ दिइयोस् ।’ धर्नावासीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुआब्जा निर्धारण समितिको निर्णयअनुसार ५ रोपनीभन्दा कम जग्गा हुनेलाई मुआब्जामा १५ प्रतिशत र १० रोपनीभन्दा कम जग्गा हुनेलाई मुआब्जामा १० प्रतिशत थप रकम दिइयोस् ।’
सथ्रै आयोजना प्रभावितहरुले पुर्नवास तथा पुनःस्थापनाको ग्यारेन्टी सहित हाल बसोबास गरिरहेकै वडामा पुर्नवास हुने गरी जग्गा रोक्का गर्न समेत माग गरेका छन् ।