ललितपुर । पाटन दरबार संग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको छ ।
मुलुकमा कोभिड–१९ महामारी फैलिएर बन्दाबन्दी भएसँगै उक्त दरबार संग्रहालय बन्द भएको थियो । यही मंसिर ८ गतेदेखि दरबार संग्रहालय इच्छुक सर्वसाधारणका लागि खुला भएसँगै चहलपहल बढेको हो ।
बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र संग्रहालय खुल्ने गरेको अधिकृत सुरेशमान लाखेले बताए । उनले भने, ‘पहिलो दिन २५ हुँदै शनिबार बिदाका दिन करिब १ सय ४० र अन्य दिन ७० को हाराहारीमा संग्रहालय अवलोकन गर्न आउने मानिसको संख्या बढ्दै गइरहेको छ ।’ कोरोना महामारीपछि खुलेको दरबार संग्रहालयमा स्वदेशीका साथै विदेशी पर्यटक पनि भित्रिन थालिसकेको लाखेले जानकारी दिएका छन् ।
पाटन कष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा गत शुक्रबार र शनिबार यस वर्षको कात्तिक नाच मञ्चन गरेसँगै दरबार संग्रहालयले पनि ती दिनबाट नाट्यकला महोत्सवको तस्वीरका साथै वृत्तचित्र प्रदर्शनी गरिरहेको छ । उक्त प्रदर्शनीमा करिब ३० वटा नृत्यका तस्वीर राखिनुका साथै २४ मिनेटको वृत्तचित्र पनि प्रदर्शनी भइरहेको सो संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।
यसका साथसाथै दरबार परिसरमा आजभोलि खुबै मानिसको चहलपहल बढेको देखिन्छ । मुलुकमा कोरोना कहर आएसँगै गत वर्षको चैत महिनाबाट पाटनमा मानिसको आवागमन शून्य भएको थियो । यस महिनादेखि मुलुकभर चिसो बढेसँगै केही घण्टा घाम ताप्न पाटन दरबार परिसरमा आफूहरू भित्रिने गरेको स्थानीय वृद्धवृद्धाको भनाई छ ।
गत वर्ष पाटनमा यस समय थुप्रै स्वदेशीलगायत विदेशी पर्यटकको चहलपहलका कारण मंगलबजार क्षेत्रमा हिँड्न समेत ठेलमठेल हुन्थ्यो । मन्दिर तथा पुरातात्विक महत्वका सम्पदाले पाटन दरबार क्षेत्र भरिएको छ ।
पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्री निर्माण हुन्छ । काठमाडौं उपत्यकाको प्रसिद्ध ३ सहरमध्ये पाटन सबैभन्दा पुरानो सहरको रूपमा परिचित छ । रासस